PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दुई सैन्य समूहबिचको भिडन्तले सुडानमा संकट, युद्धबिरामको पहल सफल होला?



पहिलोपोस्ट

दुई सैन्य समूहबिचको भिडन्तले सुडानमा संकट, युद्धबिरामको पहल सफल होला?
Photo : AFP

सुडान अहिले हिंस्रक झडपहरुबिच रुमलिरहेको छ। राजधानी खार्तुमसँगै अन्य क्षेत्रहरुमा दुई सैन्य समूहबिच भिडन्त हुँदा त्यहाँ सकंट चुलिएको हो। अप्रिल १५ देखिको संघर्षका कारण त्यहाँ सयौं मानिसको मृत्यु भइसकेको छ।

सेना प्रमुख अबदेल फटाह अल बुराह र पार्लियामेन्ट्री र्‍यापिड सपोर्ट फोर्सेस 'आरएसएफ' का प्रमुख मोहम्मद हमदानबिचको 'टसल'ले नै द्वन्द्व निम्ताएको हो। यो द्वन्द्वमा हालसम्म ५०० जना भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ४ हजार भन्दा बढी घाइते भएका छन्।

१६ वर्ष लामो सशस्त्र द्वन्द्वपछि शान्ति प्रक्रियामा रहेको सुडानमा फेरि सोही प्रकारको द्वन्द्वात्मक परिस्थिति सिर्जना भएको हो। सो सशस्त्र द्वन्द्वमा ३ लाख मानिस मारिएका थिए।

सुडानमा द्वन्द्व बढ्दै जाँदा लाखौं मानिस त्यहाँबाट पलायन हुने संयुक्त राष्ट्रसंघको अनुमान छ। हाल सीमावर्ती देश चाडमा २० हजार सुडानी शरण लिन पुगिसकेको बताइएको छ। त्यहाँ एक लाख सुडानी पुग्ने राष्ट्रसंघको प्रक्षेपण छ।

दुई पक्षबिच पटकपटक युद्धबिराम गर्ने सहमति भए पनि लागू हुन सकेको छैन। संयुक्त राष्ट्रसंघले त्यहाँ विधिको शासन कमजोर बन्दै गइरहेको छ। विश्व स्वास्थ्य संगठनले पनि एक सैन्य फौजले सुडानको 'सेन्ट्रल पब्लिक ल्याब्रटरी' नियन्त्रणमा लिएकोले केहीदिन अघि चिन्ता व्यक्त गरेको थियो। सो परिस्थितिलाई 'अत्यन्त खतरनाक' भन्दै संगठनले त्यसबाट  गम्भीर 'बायोलोजिकल रिस्क' सिर्जना भएको जनाएको थियो। सो प्रयोगशालामा पोलियो, दादुरा जस्ता रोगको नमुनाहरु रहेकोले संगठनले चिन्ता व्यक्त गरेको थियो।

अहिले सुडानमा रहेका विभिन्न देशका नागरिकहरुलाई त्यहाँबाट 'रेस्क्यू' गर्ने कार्य जारी छ। भारत, बेलायत, अमेरिका लगायतका देशहरुले त्यहाँबाट आफ्ना कूटनीतिज्ञ र नागरिकहरुलाई फिर्ता ल्याइरहेका छन्।

यता, सुडानका पूर्व राष्ट्रपति ओमर अल बसार जेलबाट अस्पतालमा राखिको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। बसारसहित ३० जना कैदीलाई चिकित्सकको सुझावमा अस्पतालमा राखिएको सेनाले जनाएको छ। बसारलाई राखिएको जेलमा दुई सैन्य समूहको भिडन्तका क्रममा आक्रमण गरिएको थियो। त्यसअघि नै उनलाई अस्पताल लगिएको जनाइएको छ। जेलमा आक्रमण पछि त्यहाँ रहेका हजारौं कैदी भाग्न सफल भएका थिए।

बसारलाई सन् २०१९ मा अपदस्त गरिएको थियो। उनलाई सत्ताबाट हटाउने क्रममा दुई सैन्य जनरलहरु सहभागी थिए। तिनै दुई सैन्य जनरलहरुको नेतृत्वमा रहेको दुई सैन्य फौज अहिले भिडिरहँदा सुडान अस्थिर बन्दै गएको छ।

सुडानमा करिब २५ हजार अपराधीहरु रिहा भएको बताइएको छ। जसकारण खार्तुमसहित अन्य शहरहरुमा लुटपाट बढेको र 'ग्याङ्ग वार' बढेको बताइन्छ।

बढ्दो द्वन्द्वका कारण राजधानी खार्तुममा नै मानिसहरु खाना, पिउने पानीसहित अन्य आधारभूत पूर्वाधार बिहीन बनेका छन्।

सुडानमा शान्ति कायम गर्न राष्ट्रसंघसहित अफ्रिकन युनियन कमिसन र अमेरिकाले पनि पहल गरिरहेको छ। अफ्रिकन युनियनले युद्धबिरामका लागि दुवै पक्षलाई आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell