काठमाडौं : सरकारले नेपालमा उत्पादन भएका सवारीसाधान दर्ता गर्ने व्यवस्था यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा थप गरेको छ।सरकारले उक्त निर्देशिकाको बुँदा नम्बर ११.१ अन्तर्गतमा नयाँ बुँदा ११.१.१ थप गरि निर्देशिका संशोधन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागले बिहीबार एक सूचना जारी गर्दै उक्त निर्देशिकामा नेपालमा उत्पादन भएका सवारीसाधान दर्ता गर्ने बाटो खोलिएको जनाएको छ।विभागको १३ गते बसेको बैठकको निर्णय बमोजिम यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत देहाय अनुसार नयाँ बुँदा ११.१.९ थप गरी संशोधन गरिएको हो। बुँदा ११.१.९ मा नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरिएको विभागले जनाएको छ।
सो निर्देशिकामा ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विदेशबाट पाटपूर्जा आयात गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन: दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन’ भनेर उल्लेख गरिएको छ।
यसैगरी, नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन: दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्त: शुल्क निकासी फारम समेत पेश गर्नुपर्ने पनि उल्लेख गरिएको छ।