बुटवल : लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गरेका छन्। नेता चौधरीले संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख अमिक शेरचन समक्ष ८ दल र एकजना स्वतन्त्र सांसदसमेत गरी ५३ जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन्।
नेता चौधरीलाई नेपाली कांग्रसेका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक/एकजना र एकजना स्वतन्त्र सांसदसमेत गरी ५३ सांसदको समर्थन छ। प्रदेश प्रमुख शेरचनले चौधरीलाई आजै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा नयाँ सरकार गठनको लागि बिहीवार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न बैशाख १२ गते नै समयसीमा तोकिदिएका थिए। गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादीबिच मुख्यमन्त्रीमा आधाआधा कार्यकाल आलोपालो गर्ने सहमति गरेर पहिलो चरणमा कांग्रेस नेता चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताइएको छ।
यसअघि गत २७ पुसमा ५८ जना सांसदको समर्थनसहित नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गत १२ चैतमा माओवादी केन्द्रसहितका दलले समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। गत ११ बैशाखमा पुनः विस्वासको मत लिएका नेता गिरीले विस्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका थिए।