काठमाडौं : एसीसी प्रिमियर लिग अन्तर्गत समूह 'ए'को अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ। समूहको अन्तिम खेलमा जित निकालेसँगै अपराजित नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल फितलो ब्याटिङ गर्दै ४०.३ ओभरमा १५७ रन बनाएर अलआउट भएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कतारको पनि ब्याटिङमा जम्न सकेन। र, ८९ रनमा २५.१ ओभरमा अलआउट भयो।
१.३ ओभरमा कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको नेपालले कुनै पनि विकेटका लागि ठूलो साझेदारी बनाउन सकेन। ३.३ ओभरमा भीम सार्कीलाई दोस्रो विकेटका रुपमा गुमाएको नेपालले तेस्रो विकेटका रुपमा १२.४ ओभरमा आशिफ शेखलाई गुमाउँदा स्कोर बोर्डमा नेपालको ५७-३ रहेको थियो। तर, १५.३ ओभरमा २७ रन बनाएका कप्तान रोहितकुमार पौडेल आउट भएसँगै नेपाललाई दबाब बढ्यो।
त्यस्तै १७.१ ओभरमा ३ रन बनाएका कुशल मल्ल आउट भए। २०.६ ओभरमा सोमपाल कामी अमिर फारुकको बलमा क्याचआउट हुँदा नेपालको स्कोर ८४-६ को दयनीय अवस्थामा थियो। सातौं विकेटका रुपमा आरिफ शेख ११ रन बनाएर तथा आठौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी ८ रन बनाएर आउट भए। ठूला सट खेल्ने सुरमा गुलसन झा २७.६ ओभरमा क्याचआउट भए। ओवासिस अहमेदको बलमा छक्का प्रहार गर्ने सुरमा झाले गरेको प्रहार बाउन्ड्रीलाइनमा गयान मुनवीराले उत्कृष्ट क्याच गरेका थिए।
अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित राजवंशीले सर्वाधिक ४६ रनको साझेदारी गरे। लामिछाने ४२ रनमा अविजित रहँदा राजवंशी १ रन बनाएर आउट भए।
बलिङतर्फ कतारका अमिर फारुकले सर्वाधिक ४ विकेट लिँदा ओवइस अहमेदले ३, गायन मुनावीराले २ तथा इक्रामुल्ला खानले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको कतारलाई नेपालले सुरुबाटै दबाबमा राख्यो।
पहिलो ओभरमा जहिर इब्राहिम र कमरन खानले ११ रन जोड्दै आक्रामक सुरुवात गर्न खोजे पनि तेस्रो ओभरमा नै ललित राजवंशीले उनीहरुको साझेदारी तोडिदिए। २.२ ओभरमा राजवंशीको बलमा दीपेन्द्रसिंह ऐरीले खानलाई क्याचआउट गराएका थिए। दोस्रो विकेट सोमपाल कामीले इमल लियनएजको लिए। ५.६ औं ओभरमा सोमपालले उत्कृष्ट बोल्डआउट गरेका हुन्।
किफायति बलिङ गरेर ब्याट्सम्यानलाई दबाबमा राखेका सन्दीप लामिछानेले तेस्रो विकेटका रुपमा जहीर इब्राहिमलाई आरिफ शेखबाट क्याचआउट गराए। सानदार बलिङ गरेको सोमपाल कामीले आफ्नो दोस्रो विकेटका रुपमा मोहम्मद तानवीरलाई बोल्डआउट गरे। लड्खडाएको कतारको पाँचौँ विकेटका रुपमा इक्रामुल्ला खान ५ रन बनाएर ११.६ ओभरमा सोमपाल कामीको बलमा भीम सार्कीबाट क्याच आउट भए। त्यस्तै सन्दीप लामिछानेले कप्तान मोहम्मद रिजलानलाई १२.४ ओभरमा स्टम्पिङ आउट गराए।
सातौं विकेट ललित राजवंशीले लिए। उनले २०.२ ओभरमा अमिर फारुकलाई आउट गराए। आठौं विकेट १५ रन बनाएका खुराम शहजादको सन्दीप लामिछानेको बलमा गयो। नवौं र दशौं विकेटका रुपमा वालिद विटिल र दशौं विकेटका रुपमा गायन मुनाविराको विकेट लामिछानले लिए।
कतारलाई लक्ष्यसम्म पुग्न नदिन सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिँदा सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए।
यससँगै नेपाल समूह 'ए' को विजेता तथा ओमन उपविजेता बन्दै सेमिफाइनलमा पुग्दा समूह 'बी' बाट सेमिफाइनल खेल पुग्ने टोलीको निर्क्योल आजै जारी हङकङ र कुवेतको खेल पछि हुनेछ। समूह 'बी'बाट यूएईले भने सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ।