पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीवार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
गुरुङले सोमबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखको आह्वानपछि आज सुरेन्द्रले प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेश गरेका थिए। उनले दाबी पेश गरेपछि गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
६० सदस्यीय गण्डकी प्रदेशसभामा उनलाई कांग्रेसका २७ सहित नेकपा माओवादी केन्द्रकाका ७ जना र स्वतन्त्र सांसद दिपक मनाङे गरि ३५ जनाले समर्थन गरेका छन्।
नवनियुक्त मुख्यमन्त्री पाण्डे गोरखा-२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। विश्वासको मत गुमाउँदै नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो। मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।