आफैँभित्र बेपत्ता लडेर धुलो उडाउँदै विपक्षीलाई समेत अकमक्क पार्न सक्ने पार्टी बनेको छ – नेपाली कांग्रेस। त्यसैले कांग्रेसलाई चुनावी मैदानमा मिल्ने अनपेक्षित परिणाम नौलो होइन। देशकै ठूलो दल, मुलुकमा चुनाव शुरु भए यताकै पहिलो ठूलो दलजस्ता विशेषणहरु कांग्रेसको काँधमा छ। बिगतमा रोमाञ्चित हुने हो भने कांग्रेससँग २०१५ सालको चुनावी अनुभव छ। प्रजातन्त्र पुनर्स्थापनापछि पनि पटक पटकको टुटफुटको अभिलेख पनि साथै छ कांग्रेससँग।
टोले सभादेखि संघीय सभासम्म विरासतको धक्कु लगाउन कांग्रेस कार्यकर्ता पछि पर्दैनन्। सभापति शेरबहादुर देउवादेखि कट्टर कार्यकर्ताको बोलीमा झुन्डिरहन्छ धाराप्रवाह रुपमा। प्रजातन्त्र ल्याउनेदेखि संविधान जारीसम्म आफ्नै नेतृत्वमा भएको क्रडिट नभएको पनि होइन पार्टीसँग। तर, जबजब चुनावी परिणाम आउँछ कांग्रेस नेताहरुको सात्तो जान थाल्छ। अनि केटाकेटीलाई गाउँतिर डोकाले छोपेर 'कोलाकोला' भन्दै पानी खन्याउने शैलीको आत्म समीक्षा पनि भइहाल्छ।
'मास बेस' पार्टी हो कांग्रेस। केन्द्रको निर्णय चित्त नबुझे कार्यकर्ता बाङ्गिएर हिँड्न थालिहाल्छन्। आफ्नै सभापतिको बोलीका विरुद्ध चर्को नारा पनि सुनिन्छ। उस्तै परे कालो झन्डा र ढुंगामुडामै उत्रन्छन् कांग्रेसका 'युथ'। पछिल्ला दिन पार्टी सभापति शेरबहादुर देउवाले सानेपा पुग्दा आफ्नै कार्यकर्ताबाट कालो झण्डाको सामना गरे। त्यही काम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि उनैका कार्यकर्ताबाट भएको भए? अनौठो उदारता भेटिन्छ कांग्रेसमा। यतिसम्म कि देउवा पोडियमबाट बोलिरहँदा सवाल जवाफमा उत्रिन्छन् कार्यकर्ता।
झन्डै दुई वर्ष पूरा हुन लागेको छ कांग्रेसको १४ औं महाधिवेशन भएको पनि। त्यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेस नराम्रोसँग पराजित भएको थियो। त्यतिबेला पनि देउवा नै नेतृत्वमा थिए। चुनावको बेला प्रधानमन्त्री रहेका देउवाले टेकेका अधिकांश ठाउँमा कांग्रेसले हार्यो। उनीप्रति न कार्यकर्ता विश्वस्त रहे न मतदाता नै। त्यसपछि धेरैलाई लाग्यो अचेत कांग्रेस अब सचेत बन्यो। अनि लाग्न थाल्यो रुपान्तरणका चर्का नारा। कांग्रेससँग अरु केही नभए पनि नारा त रहेछ! नेतृत्वकै कारण कांग्रेस थिलथिलो भएको आरोप चर्कोगरी लाग्यो। त्यतिबेला सभापति देउवाको असक्षमताविरुद्ध राजधानीमा 'फोर्सफुल्ली' कार्यक्रम हुन थाल्यो। अझ भनौं, कार्यक्रमका श्रृङ्खला चले। ती कार्यक्रममा देउवा नेतृत्वको आलोचना हुन्थ्यो तर स्वस्थ रुपमा। यस्ता गतिविधिले लाग्थ्यो - सुध्रिने भयो नेपाली कांग्रेस।
यसैखाले क्रमहरु चलिरहँदा १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको प्रयास तीव्र बन्यो। तर, मैदानमै बलिया प्रत्यासी रामचन्द्र पौडेलले हात उठाए। पौडेल कांग्रेसमा बलिया प्रतिपक्षी मानिएका थिए। उनलाई शेखर समूहले साथ दिएन, देउवा समूहले लोभ्यायो। देउवासँग टक्कर लिएर कांग्रेसको गोडमेल गर्लान् भन्ने अपेक्षा गर्नेहरु हेरेको हेर्यै भए। पौडेल देउवाका कदमहरु प्रति प्रतिरक्षकको भूमिकामा उभिन थाले। फलश्वरुप पौडेलको शीतल निवास यात्राका लागि सबैभन्दा उपयुक्त पात्र बने। देउवाले पौडेलको गुन तिरे।
बलिया मानिएका प्रतिपक्षीलाई साइड लगाएसँग देउवा ढुक्कसाथ पार्टी हाँकिरहेका छन्। कांग्रेस हाँकिरहनुपर्ने पार्टी पनि होइन। यो आफैँ चलायमान छ। त्यसको जस, अपजस चाहिँ नेतृत्वको काँधमा हुन्छ नै। पछिल्ला दिनमा केन्द्रीय समिति बैठक बोलाइएको छैन। निर्णय लिनुपर्दा अन्तिम क्षणमा पुगेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट देउवाले तजबिजी गर्दै आएका छन्। धुम्बाराहीमा भाडाको घरबाट देउवाले यसैगरी चलाइरहेका छन् पार्टीलाई। बोल्दै नबोल्ने, बोलिहाले पनि कम बोल्ने देउवा पार्टीभित्र बलियो छन्। उनलाई हल्लाउन खोज्नेहरु आफू हल्लिन्छन् तर देउवासामु निरर्थक बन्न पुग्छन्।
उदाहरणका लागि – पछिल्लो उप निर्वाचनमा देउवाका सारथीहरुको भूमिका काफी छ। देउवाको विरोध गरी चर्चामा रहेका थिए महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश। उप निर्वाचनमा उनीहरु देउवाकै शैलीमा उत्रिए। उनीहरुको क्रान्तिकारी चरित्र यसपाला कता पुग्यो? उपचुनावमा कमान्डरको ब्याज भिरेर दमौली र भरतपुर पुगेका गगन थापा र विश्वप्रकाश शर्मा देउवाकै शैलीमा हप्कीदप्कीमा उत्रिए। यसअघि थापा र शर्मा दुवैमा यस्तो शैली कांग्रेसजनले देखेका थिएनन्। युवा भए पनि बुढ्यौलीतिरको यात्रामा लागेका दुवै महामन्त्रीहरुमा देउवाकै शैली मुखारित हुन थालेको छ।
उपनिर्वाचनको परिणाम आइसकेको छ। यसले कांग्रेसलाई नमीठोगरी रन्थन्याएको छ। तरङ्गित भएका छन् देउवा। अलमल्ल छन् महामन्त्रीहरु। त्यसैको कारण हुनुपर्छ कांग्रेसका नेताहरु पुरानै मन्त्र जप्न लागिसकेका छन्। 'कांग्रेसमा उत्साह, एकता, रुपान्तरण।' कांग्रेसको १४ औं महाधिवेशन नारा हो यो। दुई वर्षअघि भएको महाधिवेशन प्रचारको यो नारा गजबले स्थापित भएको थियो।
प्रचारमा स्थापित नारा व्यवहारमा गायव भयो। अनि चाँडै नै त्यसखाले नारा बिर्सिए नेताहरुले। उप चुनावमा पछारिएपछि कांग्रेस झलस्स भएको छ। अनि पुरानो नारा फेरि गुञ्जिन थालेको छ। उप चुनावको प्रारम्भिक रुझान आउँदै गर्दा सभापति देउवासामु नाराको मन्त्रोचरण गरेका थिए संसदीय दलको बैठकपछि रामहरि खतिवडाले।
'उप निर्वाचनले पनि ठूला पार्टीहरूप्रति जनताले चासो देखाएनन् भन्ने देखियो। अब पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता देखिएको छ। अब सुध्रिनुपर्छ, ' मतदानको भोलिपल्टै नयाँ बानेश्वरमा बसेको बैठकमा देउवाले भनेका थिए। त्यसैलाई अरुबिच सुनाएका थिए खतिवडाले। धेरैलाई देउवाबाट पार्टी सुधार्नुपर्ने आवश्यकताको अभिव्यक्ति आउनु अनौठो लाग्दो विषय बन्यो। किनकि निश्चित घेराबाट माथि उठ्न नसकेका देउवाले पार्टीमा सुधार खोज्नुको अर्थ हो - पार्टी बिग्रियो। त्यसैले उनले सुधारको कुरा बोले भन्दा धेरैले पत्याएका छैनन्। एउटा सिट गुम्दा देउवालाई त्यस्तो के पीर परेको होला र? चितवनमा माओवादीलाई बोक्दाबोक्दा पार्टीको संगठन तहसनहस भइसकेको छ कांग्रेसको। चितवनमा पार्टी हाँकेका जीतनारायण श्रेष्ठले पाएको मतले पनि त्यसको पुष्टि गर्छ। आफ्नै नेतृत्वको पार्टी सुधार गर्नुपर्ने अभिव्यक्ति देउवाजस्ता नेताले कसरी बोले होलान्? धेरैको चासोको विषय बनेको छ।
चुनावमा पराजय प्राप्ति भए पनि कांग्रेसमा अझै आशाकाका बिन्दु हुन् गगन र विश्व। तर दुवै नेतामाथि प्रश्न उठ्न थालिसकेको छ। पछिल्लोपटक किन यी दुवै नेता देउवा शैलीमै उत्रिए? जवाफ खोज्नेहरुले उनीहरुलाई सामाजिक सञ्जालमा ट्याग गरिरहेका छन्। दुई महामन्त्री चुनावी मैदानमा उत्रिँदैगर्दा लागेको अर्को ट्याग हो – देवरबाबु। हिजो देउवा र आरजु शैलीको विरोधमा उत्रेर बटुलेको लोकप्रियता यी दुई महामन्त्रीले कसरी जोगाउने? प्रतीक्षाको विषय बनेको छ।
यिनै प्रश्नले खेद्न थालेपछि दुवै महामन्त्रीले एकै स्वर गरेका छन् - अब रुपान्तरणको समय आयो।
के यो नारा 'नयाँ बोतलमा पुरानो रक्सी' त होइन? कांग्रेसले रक्सी जति पुरानो उति नै राम्रो भन्छ भने हामीसँग कुनै प्रश्न रहने छैन।