PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

फ्राइडे रिलिज : एकैदिन चार नेपाली फिल्म प्रदर्शन



पहिलोपोस्ट

फ्राइडे रिलिज : एकैदिन चार नेपाली फिल्म प्रदर्शन

काठमाडौं : आज सिनेमाहलमा चार नेपाली फिल्महरु प्रदर्शनमा आएका छन। ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’, ‘कैदीको पत्र’ र ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ एकसाथ रिलिज भएका हुन्।

सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीको मुख्य भूमिका छ। सुशील पौडेलको कथा रहेको यो फिल्म दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को सिक्वेल हो।

त्यसैगरि, विकास आचार्यको निर्देशन रहेको फिल्म ‘नाई नभन्नु ल ६’ पनि रिलिज भएको छ। आर्शिवाद क्षेत्री र आँचल शर्माको मुख्य भूमिका रहको यस फिल्ममा सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीलगायतको अभिनय छ।

आख्यान फिल्म्सको ब्यानरमा बन्ने फिल्मको निर्माता सिविन दाहाल र सञ्जय न्यौपाने हुन्। विकाससँगै सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले ‘नाई नभन्नु ल ६’ को पटकथा लेखेका हुन्।

‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको जीवनमा आधारित डकुमेन्ट्री हो। अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले निर्देशन गरेको यस डकुमेन्ट्रीलाई पासाङ ल्हामु फान्डेसनले निर्माण गरेको हो। दुर्गम क्षेत्रकी एक आदिवासी महिलाले अघि बढ्न गरेको संघर्ष, अवरोध र समाजदेखि परिवारसम्मको सहयोग फिल्ममा समेटिएको छ।

यस्तै, सनम कुमार बैराग निर्देशित फिल्म ‘कैदीको पत्र’ पनि प्रदर्शनमा आएको छ। फिल्ममा कुनाल विश्व, बेलायती अभिनेत्री म्याडिशन लाजारसयसका साथै सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनीष श्रेष्ठलगायतका नेपाली तथा बेलायती कलाकारहरुको अभिनय रहेको छ।

बैरागको नै कथा र संवाद रहेको यो फिल्म साहित्यकार ईश्वर मानन्धरको कथा ‘कैदीको पत्र’ मा आधारित छ। फिल्मको सम्पूर्ण छायाङ्कन स्कटल्याण्डमा भएको हो।

दुई ठूला फिल्महरु ‘प्रसाद २’ र ‘नाई नभन्नु ल ६’ रिलिज हुँदा ‘कैदीको पत्र’ र ‘पासाङ’ चेपुवामा परेका छन्। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘प्रसाद २’ लाई ३४ शो, ‘नाई नभन्नु ६’ लाई १८ र ‘पासाङ’ लाई ५ शो दिएको छ।

क्युएफएक्सका हलहरुमा शो नपाए पनि ‘कैदीको पत्र’ अन्य मल्टिप्लेक्स हल र सिंगल थिएटरमा रिलिज भएको छ। तेस्रो सातामा प्रवेश गर्दा पनि दयाहाङ राई र मिरुना मगर अभिनित 'जारी' ले क्युएफएक्सबाट ३५ शो पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell