PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

‘प्रसाद २’ मा केकीको नारायणी यात्रा, विद्रोही पात्रलाई दर्शकले कति देलान् साथ ?



लक्ष्मी बलायर

‘प्रसाद २’ मा केकीको नारायणी यात्रा, विद्रोही पात्रलाई दर्शकले कति देलान् साथ ?

काठमाडौं : जीवनमा कहिलेकाँही नसोचेको कुरा भइदिन्छ। र, आशै नगरिएका कुरा पूरा हुँदा विछट्टै खुसी मिल्छ। अभिनेत्री केकी अधिकारीसँग यस्तै भयो, ‘प्रसाद २’ मा काम गर्नु उनका लागि अपेक्षित थिएन।

गत वर्षको असार महिनामा ‘प्रसाद २’निर्माण हुने घोषणा भयो। मुख्य भूमिकामा दोहोरिए विपिन कार्की र नम्रता श्रेष्ठ। घोषणादेखि नै चर्चामा रहेको यो फिल्म छायाङ्कन अघि नै विवादमा पर्‍यो। असारतिर फिल्मटिम बागलुङको भकुण्डे र कास्कीको ल्वाङ गाउँ पुगेको थियो। तर, छायाङ्कन सुरु हुनुअघि विपिन र निर्माण टिमबिच विवाद भयो। त्यही विवादले सुटिङ नै रोकियो। र, सम्पुर्ण टिम काठमाडौं फर्किनुपर्‍यो।

विवाद टुंगिएपछि विपिन फेरि फिल्ममा काम गर्न तयार भए। तर, प्रसादमा नारायणीको पात्रमा देखिएकी नम्रताले व्यस्तताको कारण देखाउँदै फिल्मबाट हात झिकिन्। अनि निर्माण टिम नयाँ अभिनेत्रीको खोजीमा लाग्यो।

यसैबिच केकी अधिकारीलाई निर्माता सुवास थापाको फोन आयो। कुराकानीमा थापाले नम्रताले छोड्नुको कारण सुनाउँदै केकीलाई फिल्म खेल्न ‘अफर’ गरे।

केकीसँग सुवासले भने,‘नम्रताको ठाउँमा हामी तपाईंलाई लिन चाहन्छौँ। तर, एक हप्तामै छायाङ्कनमा जानुपर्छ।’

सो प्रस्ताव सुनेर केकी मनमनै दंग भइन् र, भेटेर कुरा गर्ने जवाफ फर्काइन्। 

केकीलाई प्रसाद औधी मन परेको फिल्म। सिक्वेलमा विपिन र अर्पण थापा जोडिएकोबारे थाहा थियो उनलाई। अनि निर्देशकमा सुदर्शन थापा। ती कुराहरु उनलाई सिक्वेलमा काम गर्न थप हौसायो।

‘प्रसाद मैले हेरेको र मन परेको फिल्म थियो। निर्देशकदेखि कलाकार जोडिएकोबारे थाहा थियो। उहाँहरुसँग काम गर्ने अवसर गुमाउन चाहँदिन थिए म,’उनले भनिन्, ‘त्यसमाथि फिल्मको कथा नारायणीको वरिपरि घुमेको। नेपालमा महिलालाई केन्द्रमा राखेर खासै कथा बन्दैनन्। तर, यसमा महिलाको मनोविज्ञान र मनोभाव बुझेर कथा लेखिएको थियो। जुन कुराले म आकर्षित भएँ।’

प्रसादमा नम्रताले नारायणीको भूमिका निर्वाह गरेकी थिइन।  त्यसैले  प्रसादको सिक्वलमा केकीलाई नारायणी पात्रमा ‘फिट’ हुन चुनौती थियो।

भन्छिन्, ‘अरुले गरिसकेको पात्रमा फिट हुन गाह्रो हुन्छ। तर, मैले त्यसलाई अवसरको रुपमा लिएँ। एउटा राम्रो कलाकारले अभिनय गरिसकेको र दर्शकले रुचाइसकेको पात्र। त्यस पात्रमा देखिदा झन् मेहनेत गर्छु भन्ने भयो। कसैले गरिसकेको फिल्म भन्दा पनि एउटा फ्रेस फिल्म भनेर काम गरेँ।’

छायाङ्कन सुरु हुन एकहप्ता मात्र बाँकी थियो। सुरुमा एकपटक उनले प्रसाद हेरिन। र, नारायणीलाई राम्ररी नियालिन्।

‘मलाई म नारायणीजस्तो बन्न सक्दिन भन्ने थाहा थियो। किनकी नम्रताजी र मेरो बाहिरी आवरण मिल्दैन। प्रसादकै जस्तो नारायणी बन्न खोज्दा अभिनयमा मेरोपन आउँदैन। जसकारण नारायणी पात्रको गहिराई र बोल्ने शैलीलाई मात्र पछ्याए,’ उनले भनिन्।

छायाङ्कन सुरु भएको तीन दिन पछि  फिफा विश्वकपको फाइनल खेल थियो। अर्जेन्टिनाको फ्यान हुन् केकी। त्यसैले अर्जेन्टिनाले जित्दा प्रसाद २ लाई पनि त्यही जितसँग जोड्न भूलिनन् उनले ।

‘अर्जेन्टिनाले वर्ल्डकप जित्दा निकै खुसी लागेको थियो। त्यसैले म यस फिल्मलाई विजयसँग जोड्छु। प्रसाद २ मेरो लागि एउटा जितको चलचित्र हो,’ उनले भनिन्।

२०६७ सालमा प्रदर्शन भएको फिल्म ‘स्वर’ बाट सिनेक्षेत्रमा डेब्यू गरेकी हुन केकीले। १३ वर्ष लामो अभिनय करियरमा उनले तीनदर्जन फिल्ममा काम गरिसकेकी छिन। तर, अधिकांश फिल्ममा उनको अभिनयको राम्रै चर्चा भए पनि धेरै फिल्महरुले बक्सअफिसमा खासै जाडु चलाउन सकेको छैन। त्यसैले‘प्रसाद २’ बाट भने उनी निकै आशावादी छिन्।

तस्विर : केकीको फेसबुक पेजबाट


विपिन र अर्पणझै केकीलाई पनि फरक-फरक खाले पात्रमा काम गर्न मन छ। तर, फिल्ममेकरले अफर गर्ने पात्र एकैखाले हुँदा अभिनयमा विविधता आउन नसकेको गुनासो छ उनको।

भन्छिन्, ‘विपिन र अर्पण जी चरित्रमा डुबेर अभिनय गर्ने कलाकारमा पर्नुहुन्छ। नयाँ नयाँ पात्रमा देखिनुहुन्छ। तर, हामीले गर्ने पात्रहरु एक त लेखिएको पनि त्यसरी नै हुन्छ। मेहनेत गरेर लेखिदिएको पनि हुन्न। जसले अभिनयमा नयाँपन आउँदैन। आफूमा पनि केही कमजोरीहरु छन्। हामी पनि हतार हतार गर्छौं।’

नारायणीको भूमिकामा भने उनले फरक पाएकी छिन्। त्यसैले आफूलाई दर्शकले स्विकार्नेमा पनि उनी ढुक्क सुनिइन्।

‘फिल्ममा कलाकार मात्रै फेरिएको हो, नारायणी पात्र होइन। त्यसैले कलाकार फेरिदैँमा दर्शकले स्विकार नगर्लान् भन्ने लाग्दैन। एउटा राम्रो फिल्मले सबै कोणबाट दर्शकलाई प्रभाव पार्छ। चलचित्र राम्रो भएमा र दर्शकको मस्तिष्कमा बसेमा सबै कुरा जायज लाग्छ। फिल्ममा जतिसक्दो नारायणी पात्रको निकट रहेर न्याय दिने प्रयास गरेकी छु,’केकीले भनिन्, ‘प्रसाद २ पुर्ण मनोरञ्जनात्मक फिल्म हो। राम्रो सिनेमालाई दर्शकले मनपराउनु हुन्छ भन्ने विश्वास छ।’

सिक्वेलमा दर्शकले नारायणीको संघर्ष र विद्रोह हेर्न पाउने केकी बताउँछिन्।

उनले भनिन्, ‘नारायणी आफैँ एक सबल र सचेत पात्र हो। एउटा बच्चालाई संसारमा ल्याउने वा नल्याउने त्यो महिलाको अधिकारको कुरा हो। त्यसैले यो महिलालाई पूर्ण अधिकार दिइएको चलचित्र हो। नारायणीले शहरबाट गाउँ गएर परिवार र समाजसँग गरेको संघर्ष र विद्रोह यस फिल्ममा छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell