इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई हराएको छ। जयपुरस्थित स्वामी मानसिंह स्टेडियममा सम्पन्न खेलमा राजस्थानले चेन्नइलाई ३२ रनले हराउँदै शीर्षस्थानमा उक्लिएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ ६ विकेट गुमाएर १७० रनमा समेटियो।
सुरुवाती ब्याटिङ गरेको राजस्थानका ओपनरद्वय यशस्वी जसवाल र जोस बट्लरले ८६ रनको साझेदारी बनाउँदै उत्कृष्ट सुरुवात दिलाएका थिए। जसवालले सर्वाधिक ७७ रन बनाउँदा बटलरले २७ रन बनाएका थिए। त्यस्तै ध्रुव जरेलले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ३४ रन बनाउँदा देवदत्त पार्डिकल २७ रनमा अविजित रहे। बलिङतर्फ चेन्नइका तुसारदेश पाण्डेले २ विकेट लिँदा महीस थिकसेना र रवीन्द्र जडेजाले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको चेन्नइका लागि शिवम दुबेले ५२,रुतुराज गाइक्वडले ४७ तथा मोइन अली र रवीन्द्र जडेजाले समान २३ रन बनाए पनि लक्ष्यसम्म पुग्न सकेनन्। राजस्थानका एडम जाम्पाले ३, रविचन्द्रन अश्विन २ र कुलदीप यादवले १ विकेट लिँदै चेन्नइलाई लक्ष्यसम्म पुग्नबाट रोके।
जितसँगै ८ खेलबाट ५ जित निकालेको राजस्थान रोयल्स १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। समान १० अंक जोडेका गुजरात र चेन्नइ सुपर किंग्स तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्।