PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

प्रिन्टरबाट नोट छाप्यो, बजारमा गएर किनमेल गर्‍यो !, नक्कली नोट अघिअघि प्रहरी पछिपछि



पहिलोपोस्ट

प्रिन्टरबाट नोट छाप्यो, बजारमा गएर किनमेल गर्‍यो !, नक्कली नोट अघिअघि प्रहरी पछिपछि

काठमाडौं : गत आइतवार (वैशाख १०) ३६ वर्षीय जीवन तामाङ ललितपुरको गोदावरीमा रहेको एक किराना पसलमा सामान लिन पुगे। जीवनले पसलमा दुई केजी मैदा र दुई लिटर तेल किने। त्यसपछि उनले एक हजार रुपैयाँको नोट दिए।

किराना पसलेलाई जीवनले दिएको रकममा शङ्का लाग्यो। त्यसपछि उनले तुरुन्तै प्रहरीलाई खबर गरे। जिल्ला प्रहरी परिसर ललितपुरबाट डीएसपी सहितको टोली पसलमा पुग्यो। जीवनको शरीर प्रहरीले खानतलासी गर्‍यो। एकएक वटा एक हजार र पाँच सयका नोट थिए उनीसँग। एक सय रुपैयाँको पनि नोट भेटियो। प्रहरीको प्रारम्भीक अनुसन्धानमै नोट नक्कली रहेको देखियो। जीवन समातिए।

खोटाङ ऐसेलुखर्क गाउँपालिकाका  वडा नम्बर ३ स्थायी घर भई हाल गोदावरी नगरपालिका वडा नम्बर १३ झरुवारासी बस्दै आएका हुन् जीवन। उनको वास्तविक नाम भने सुरेश तामाङ रहेछ।

प्रहरीले अदालतबाट पाँच दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान थाल्यो। त्यही क्रममा अर्का व्यक्ति समेत नक्कली नोटको प्रकरणमा जोडिए। कास्कीको मादी गाउँपालिका वडा नम्बर १ स्थायी घर भएका २१ वर्षीय सुकुटे भनिने भुपाल बिकको संलग्नता खुल्यो। बिहीवार गोदावरी नगरपालिका वडा नम्बर ११ बज्रवाराहीबाट सुकुटे समातिए। उनको साथबाट पनि प्रहरीले नक्कली नोट फेला पार्‍यो। त्यतिमात्र होइन, उनको कोठामा पुग्दा प्रहरीले थप प्रमाण भेटायो - फोटोकपी/प्रिन्टर। उनले कोठामा नै नक्कली नोट तयार गर्ने गरेको खुल्यो।

'कोठामा नै नोट छाप्ने गरेको देखियो। कहिलेदेखि र कति छापेको हो भन्ने अनुसन्धान भइरहेको छ,' जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले भने।

जीवनलाई नोट भने भूपालले दिएको देखिएको छ। उनी यस बिचमा पोखरा गएको देखिएको छ। नक्कली नोट लिएर पोखरा पनि गएको हुनसक्ने प्रहरीको आशङ्का छ। उनले छापेको नोट बजारमा कति गयो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान जारी राखेको छ। 

पछिल्लो समय देशभित्र नक्कली नोटको कारोबार बढेको देखिन्छ। भारतसँग सीमा जोडिएका तराईका जिल्लामा नक्कली नोटको बिगबिगी नै छ। केही दिनअघि मात्रा धनुषाको जनकपुर उपमहानगरपालिका- २३ स्थित बसपार्कबाट १ हजार दरको ४ सय ९२ थान र ५ सय दरको ५ सय ५९ थान नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका थिए।

बिदेह नगरपालिका-६ बस्ने २५ वर्षीया अनुकुमारी साहलाई गत सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। महोत्तरीको मटिहानी नगरपालिका-८ स्थित दशगजा नजिकबाट एक हजार दरको १ थान नक्कली नोट भेटिएको छ। धनुषा मुखियापट्टी मुसर्निया गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई सोमवार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई नक्कली नोटसहित फेला पारेको हो। यी घटनाले भारतमा छापेर नेपालमा नक्कली नोट भित्रिने गरेको पनि खुलेको छ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई महिला सहित ४७ जना नक्कली नोट कारोबारमा समातिएका थिए। आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या ४४ पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ मा ७९ पुग्यो। यो बाहेक १५ जना विदेशी नागरिक पनि समातिए।

गएको आर्थिक वर्षमा देशभरबाट ४ करोड २३ लाख ३४ हजार रुपैयाँ अवैध नोट बरामद भयो। जसमा ३ करोड ७८ लाख १ हजार ६ सय ३३ रुपैयाँ नक्कली नोट बरामद भएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ४ करोड ५९ लाख रुपैयाँ नक्कली नोट भेटियो। जसमा २५ वटा मुद्दा दर्ता भए। आर्थिक वर्ष २०७६/७७ मा ४१ वटा मुद्दा सङ्ख्या पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell