PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

अध्यक्ष ओलीमाथि भएको आक्रमण प्रयासप्रति एमाले मकवानपुरको आपत्ति



पहिलोपोस्ट

अध्यक्ष ओलीमाथि भएको आक्रमण प्रयासप्रति एमाले मकवानपुरको आपत्ति
फाइल फोटो।

हेटौंडा : नेकपा (एमाले)का केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापामा भएको दुर्व्यवहारको एमाले मकवानपुर जिल्ला कमिटिले भर्त्सना गरेको छ। एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन्।

गत बैशाख १३ गते झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा आयोजित पार्टी कार्यकर्ता भेलामा केही अराजक भिडले पार्टी अध्यक्षमाथि गरेको सांघातिक हमलाको दुष्प्रयासको निन्दा गर्दै एमाले मकवानपुरले दोषिमाथि कडा कारबाहीको माग गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी नेकपा एमालेका श्रद्धय अध्यक्ष केपी शर्मा ओलीलाई गृह जिल्ला झापाको कार्यक्रममा सहभागी हुने क्रममा मिति २०८० बैशाख १३ गते केही अराजक समूहले गरेको दुर्व्यवहारको प्रयासको नेकपा एमाले मकवानपुर जिल्ला कमिटी घोर भर्त्सना गर्दछ।’

समाजमा शान्ति र मेलमिलाप भङ्ग गर्ने नियोजित षड्यन्त्र स्वरुप सत्तापक्षकै कार्यकर्ता समेतको नेतृत्वमा घटना भएको जिल्ला कमिटीको आरोप छ। जनजातिको पहिचान स्थापित गर्ने प्रमुख लडाइँको मोर्चामा एमाले सधैँ अगाडि रहँदा पनि नियोजित रुपमा केही अराजक समूहले गरेको क्रियाकलापले सामाजिक सद्भाव र एकतालाई  कमजोर बनाउने, साम्प्रदायिक विद्वेष फैलाउने एमाले मकवानपुरको ठहर छ।

यसले सिङ्गो आदिवासी जनजाति आन्दोलन र पहिचानको मुद्दालाई नै ध्वस्त पार्ने भन्दै यस्ताखाले अराजकतालाई अन्त्य गर्दै पार्टी अध्यक्षमाथि दुर्व्यवहार गर्न खोज्ने दोषि माथि कडा कारबाहीको माग एमाले मकवानपुरले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell