हेटौंडा : चुरियामाई सुरुङमार्ग पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ। २०७८ साउनमा थालिएको पुनःनिर्माण २०८० बैशाखसम्म आइपुग्दा अन्तिम चरणमा पुगेको हो।
तत्कालिन भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले १०६ वर्ष पुरानो सुरुङमार्गको पुनःनिर्माण २०७९ बैशाखसम्म सक्ने गरी सुरु गरेका थिए। तर निर्धारित समयमा नसकिएपछि पटक-पटक म्याद थपेर हालसम्म काम अन्तिम चरणमा पुगेको बताइएको छ।
पछिल्लो पटक थपिएको म्याद पनि यहि बैशाख १९ गते सकिँदैछ। १९ बैशाखसम्म काम पूर्णरुपमा नसकिने भएकाले कानुन अनुसार पुनः म्याद थपेर जेठसम्म काम सक्ने लक्ष्य लिइएको वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयका इञ्जिनियर एवं प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिए।
प्रवक्ता ओझाका अनुसार अब उक्त सुरुङमार्गको ७/८ मिटर खन्न बाँकी रहेको हुँदा जेठसम्म काम सम्पन्न हुनेछ। उक्त सुरुङमार्ग निर्माण कार्यमा हाल ७ जना कामदार खटिएका छन्।
पुनःनिर्माणका लागि माउण्टेन इन्फ्रा कम्पनीले काम गरिरहेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले ३ करोड ३६ लाख १३ हजार रूपैयाँको लागतमा पुनःनिर्माण सम्झौता गरेको थियो।
हालको वाग्मती प्रदेशको राजधानी हेटौंडा र मधेश प्रदेश जोड्न विसं १९७४ सालमा यो सुरुङमार्ग निर्माण गरिएको थियो। चुरियामाई सुरुङमार्ग राजा त्रिभुवन शाह तथा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरको पालामा नेपाली सेनाका इञ्जिनियर डिल्लीजङ्ग थापाको डिजाइन र प्रयत्नमा नेपाली प्रविधि प्रयोग गरेर खनिएको थियो।
करिब ५ सय मिटर लामो यो सुरुङको एकापट्टीको भाग पुरिएर करिब २ सय ८० मिटर मात्र बाँकी रहेको थियो। तत्कालीन समयमा चुरे पहाड छेडेर तराईलाई काठमाडौंसम्म जोड्नु महत्वपूर्ण थियो।
विसं १९७४ मा बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसँग जोड्ने सडक बनाउने बेलामा तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङमार्गले त्यो समयमा जनजीवन सामान्य बनाएको जानकारहरू बताउँछन्। सहज आवतजावत गर्न मिल्ने गरी पुनःनिर्माण गरिएपछि सुरुङमार्गको दूरी घटेर २ सय १५ मिटर मात्र बाँकी रहने जानकारी यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेव भण्डारीले दिए।
सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर तथा उचाइ ३ मिटर ३० सेन्टिमिटर रहेको भण्डारीले बताए। उनले सुरुङ सकेसम्म पुरानै स्वरूपमा बनाउन लागिएको पनि बताए।
पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ। सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगा राखिएको छ, खोपाहरू कुँदिएका छन्।
सुरुङमार्ग पुनःनिर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागिसमेत खुला गरिने जनाइएको छ। उक्त मार्गबाट विसं २०२० सालसम्म सवारी आउजाउ हुने गरेको जानकारहरूको भनाइ छ।
जानकारका अनुसार प्रजातन्त्र पुनःस्थापनापछि त्रिभुवन राजपथ बनेर ठूला-ठूला सवारीसाधनहरू भित्रिएपछि त्यो सुरुङ सानो भयो। सुरुङमार्गको छेउमा विष्फोट गराएर भत्काइयो भने त्यहीँ सडक बनाउँदा सुरुङको आधा भाग नष्ट भएको थियो।
सडकछेउ देखिएको सुरुङको मुख थुनिएको थियो। तर बारातर्फबाट मन्दिरनजिक सुरुङको मुख्य भाग भने सकुशल रहेको थियो।
सुरुङको केही भाग नष्ट भएपछि सडक पारिको अर्को भागलाई भने कंक्रिटले बन्द गरिएको थियो। नेपालका हरेक भूभागलाई राम्रोसँग बुझेका स्विस टोनी हेगनले सन् २००४ मा लेखेको पुस्तक ‘द हिमालयन किङ्डम अफ नेपाल’मा सुरुङमार्गबारे स्पष्ट पार्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भित्र्याउन नसकेको बेला नेपाल सफल भएकोमा खुशी व्यक्त गरेका छन्।
त्यो समयमा बाराको अमलेखगञ्जसम्म रेल चल्ने गरेको थियो। रेल पछिसम्मै चले पनि सुरुङमार्ग भने बन्द भयो।
उक्त मार्ग निर्माणताका अमलेखगञ्जबाट मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको जानकारहरु बताउँछन्। भीमफेदीबाट काठमाडौं जाने मोटरबाटो नहुँदा त्यतिबेला राजा र राणाहरूले बोकाएरै भए पनि साना गाडी काठमाडौं पुर्याएका थिए।
अमलेखगञ्ज-भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरे खण्डमा भने मोटर उक्लन निक्कै गाह्रो थियो। ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको खर्चसमेत बढी हुने भएपछि तत्कालीन राणा सरकारले विकल्पका रुपमा त्यहाँ सुरुङ खनेका थिए।