PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

फरार सांसद कोइरीको बिरामी बिदा भएन स्वीकृत, अर्को अधिवेशनसम्म निलम्बन निश्चित



पहिलोपोस्ट

फरार सांसद कोइरीको बिरामी बिदा भएन स्वीकृत, अर्को अधिवेशनसम्म निलम्बन निश्चित

काठमाडौंः महोत्तरी १ बा निर्वाचित नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदाबारे प्रतिनिधि सभाले कुनै निर्णय गरेन। अधिवेशन अन्त्यका क्रममा दश वा सोभन्दा बढी बैठकमा लगातार अनुपस्थित सांसदको बिदाबारे निर्णय गर्ने अभ्यास भए पनि कोइरीको हकमा विवाद भएपछि निर्णय नभएको हो। 

सत्तापक्षका सांसदहरुले फरार अभियुक्तलाई बिरामी भनेर प्रस्ताव स्वीकृत गर्न नसकिने अडान राखेपछि अर्को अधिवेशनमा निर्णय गर्ने भन्दै विवाद पन्छाइएको छ। 

शुक्रबारको बैठकको अन्त्यमा विवाद भएपछि साँझ ५ः१० बजे बैठक स्थगित भएको थियो। राति ८ बजे दोस्रो बैठक बोलाइए पनि विवादका कारण राति १० बजेमात्र बैठक बसेको थियो। 

दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले कोइरीबारे अर्को अधिवेशनमा कानुन अनुसार निर्णय गर्ने जानकारी बैठकमा दिनुभएको थियो। 
प्रतिनिधि सभा निमायवली अनुसार अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेका सांसद निलम्बन हुने व्यवस्था छ। सभामुख घिमिरेले नियमावलीको सो व्यवस्था कार्यान्वयनमा आएपछि अधिकारप्राप्त निकायबाट पत्राचार नभएको भन्दै निलम्बनको प्रक्रिया अघि बढाउन अस्वीकार गरेका थिए। 

पुनः पत्राचार गर्दै प्रहरी
विवादपछि प्रमुख दलका नेताहरुकै बैठकबाट घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जानकारी गराइएको थियो। मन्त्री श्रेष्ठले कोइरीबारे प्रहरीले आइतबार तत्काल नै संसदलाई जानकारी गराउने प्रतिवद्धता जनाएका थिए। 

प्रहरीले तत्काल नै कोइरी फरार रहेको जानकारी गराए निलम्बनको प्रक्रिया प्रारम्भ हुनेछ। 

२०७२ भदौमा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या अभियोग लागेका कोइरीले फरार रहेकै अवस्थामा निर्वाचनमा सहभागी भएर विजयी भएका थिए। 

विकको हत्या अभियोगमा सुरुमा जिल्ला अदालतले कोइरीलाई एक लाख रुपैयाँ धरौटीमा रिहाको आदेश गरेको थियो। उच्च अदालत जनकपुरले भने २०७७ मा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो। अदालतको आदेश कार्यान्वयन नभइ कोइरी अहिले फरार छन्। 

फरार अवस्थामा रहेका उनले संसदलाई २०७९ माघ २५ गतेदेखि बिरामी परेकाले बिदा स्वीकृतका लागि निवेदन पठाएका थिए। कोइरीले अधिवेशनमै दुईवटा निवेदन पठाएका थिए। 

शुक्रबार अधिवेशन अन्त्यका क्रममा उक्त बिदाको जानकारी स्वीकृतका लागि पेस भएसँगै विवाद भएको थियो। नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तावको विरोध गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell