काठमाडौंः संघीय संसदको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य गरिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्यको संवैधानिक व्यवस्था छ। राष्ट्रपति रामचन्द्र पौडेल बिरामी रहेकाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले अधिवेशन अन्त्य गरेका हुन्।
११० दिन चलेको अधिवेशनमा प्रधानमन्त्रीले दुई पटक विश्वासको मत लिएका छन्। पदाधिकारी निर्वाचन र राष्ट्रपतिको सम्बोधन पनि अधिवेशनमा भएको छ।
यस्ता छन् मुख्य काम
- मा० सदस्यहरु, प्रतिनिधि सभाको दोस्रो निर्वाचन पश्चात् संघीय संसदको अधिवेशन सँगै प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठक २०७९ साल पुस २५ गते सोमबार प्रारम्भ भई आज २०८० साल वैशाख १५ गते शुक्रबारसम्म जम्मा ११० दिन चालु रह्यो । जसमध्ये २८ दिनहरुमा २८ पटक बैठक बसी जम्मा ९१ घण्टा ५० मिनेट ससंदीय काम कारवाहीमा व्यतित भयो । साथै २०७९ साल माघ २७ गते संघीय संसदको संयुक्त सदनको एउटा बैठक बसी ५० मिनेट समय व्यतित भयो ।
- नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र अन्य काम कारबाही नियमित एवं प्रभावकारी बनाउन यस प्रतिनिधि सभाले सभाको नियमावली नबनाएसम्मको लागि “प्रतिनिधि सभा नियमावली, २०७५” बमोजिम सभाको कामकारवाही गर्ने प्रस्तावलाई मिति २०७९ पुस २५ गतेको बैठकमा स्वीकृतिको लागि पेश हुँदा सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।
- सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मिति २०७९ पुस २६ गतेको सभाको बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम आफुमाथि प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्तावको पक्षमा २६८ (दुईसय अट्सठ्ठी) मत परि प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएको थियो । त्यसैगरी सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मिति २०७९ चैत ६ गतेको सभाको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्तावको पक्षमा १७२ (एकसय बहत्तर) मत परि प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएको थियो ।
- सभाको यस अवधिमा प्रतिनिधि सभामा उत्पत्ति भएको “सम्पत्ति सुृद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायीक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९”, “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” र “वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ ।
- त्यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा प्राप्त अनुगमन तथा मुल्यांकन विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रशारण विधेयक, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ भने भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक माथि सभामा सैद्धान्तिक छलफल भैसकेको अवस्था छ ।
- त्यसैगरी प्रतिनिधि सभाको चालू अधिवेशनमा मा० सदस्यहरुबाट दर्ता हुन आएका विभिन्न मन्त्रालयसँग सम्बन्धित ५५ वटा मौखिक प्रश्नहरु प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ४५ बमोजिम टेबुल भएको छ ।
- मिति २०७९ माघ ५ गतेको बैठकमा भएको प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनमा प्राप्त दुई वटा प्रस्ताव मध्ये “यस सभाका माननीय सदस्य श्री देवराज घिमिरेलाई प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित गरियोस्” भन्ने प्रस्तावको पक्षमा १६७ (एकसय सत्सठ्ठी) मत परि प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएको थियो । साथै मिति २०७९ माघ ७ गतेको बैठकमा भएको प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा प्राप्त दुईवटा प्रस्ताव मध्ये “यस सभाका माननीय सदस्य श्री इन्दिरा रानालाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस्” भन्ने प्रस्तावको पक्षमा १६६ (एकसय छैसठ्ठी) मत परि प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएको थियो ।
- सभाको मिति २०७९ माघ १० गतेको बैठकबाट मा० श्री देवेन्द्र पौडेल प्रस्तावक र मा० श्री रामकृष्ण यादव र मा० श्री ऋषिकेश पोखरेल समर्थक भई २१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गर्न राख्नुभएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । उक्त मस्यौदा समितिको कार्यावधि सात दिन थप गर्ने प्रस्ताव माघ २७ गते सभाबाट स्वीकृत भएको थियो । मस्यौदा समितिले २०७९ फागुन १० गते सभा समक्ष पेश गरेको प्रतिवेदनमाथि २०७९ चैत १९ गतेको बैठकमा दफावार छलफल भई संशोधनसहित बहुमतबाट प्रतिनिधि सभा नियमावली, २०७९ पारित भएको थियो ।
- मिति २०७९ माघ २२ गतेको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि सम्वत् २०८० साल असार मसान्तसम्म थप गर्ने गरी नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश भएको थियो ।
- ९ढ० त्यसैगरी मिति २०७९ माघ २७ गते सम्माननीय राष्ट्रपतिद्वारा नेपालको संविधानको धारा ९५ बमोजिम प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो । सोही दिन बसेको प्रतिनिधि सभाको बैठकले सम्माननीय राष्ट्रपतिबाट भएको सम्बोधनको लागि सर्वसम्मतिबाट धन्यवाद प्रस्ताव पारित गरेको थियो ।
- यस अधिवेशन अवधिभरमा “राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९)”, “थारु आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ श्रावण – २०७९ आषाढ)”, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९)”, “राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ. व. २०७८/०७९)”, “लोक सेवा आयोगको त्रिसट्ठीऔं वार्षिक प्रतिवेदन (२०७८ श्रावण – २०७९ आषाढ)”, “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७९”, “महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९”, “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९” र “आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९)” सभामा पेश भए ।
- यस अधिवेशनमा मिति २०७९ माघ १ गते पोखरामा भएको विमान दुर्घटनाका सम्बन्धमा विशेष प्रस्ताव र प्रतिनिधि सभा सदस्य शहनाज रहमान, पूर्व सदस्य सुश्री मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल, झुलबहादुर आले, कर्मा घले, गणेश प्रसाद विमली र तेजमान तुम्वाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित भएको थियो ।
- त्यसैगरी सभाको आजको बैठकले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरुमा रहने मा० सदस्यहरुको नामावलीसहितको प्रस्तावलाई सहमति जनाएको छ ।
- सभाको विभिन्न बैठकको आकस्मिक, शून्य र विशेष समयहरुमा सभाका मा० सदस्यहरुले समसामयिक एवं जिल्लामा घटित विभिन्न घटनाहरुको सम्बन्धमा सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भएको थियो ।
- यसै अवधिमा सदनको विभिन्न बैठकहरुमा मा० उपप्रधानमन्त्री तथा गृह मन्त्री श्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी सम्बन्धी समस्या समाधानमा सरकार गम्भीर एवं प्रतिवद्ध रहेको, अराजक र गैर संवैधानिक गतिविधिलाई सरकारले छुट नदिने, नागरिकता समस्या समाधन गर्ने सम्बन्धमा, मा० सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री सुदन किरातीले यति एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा, मा० सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री रेखा शर्माले सरकारको न्यूनतम साझा कार्यक्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री अमनलाल मोदीले निजामति सेवा विधेयक एवं स्थानीय तहको कर्मचारी व्यवस्थापन लगायतका सार्वजनिक महत्वको विषयमा र मा० भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री प्रकाश ज्वाला र मा० भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्री रञ्जिता श्रेष्ठले आकस्मिक, शून्य एवं विशेष समयमा उठेका प्रश्नको सम्बन्धमा वक्तव्य दिनुभयो ।