PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कैलालीको माघी होमस्टे : एक चोटि पुग्नै पर्ने पश्चिम तराईको रमाइलो गन्तव्य

कैलालीको माघी होमस्टे : एक चोटि पुग्नै पर्ने पश्चिम तराईको रमाइलो गन्तव्य

पहिलोपोस्ट /पहिलोपोस्ट


  • राजु आचार्य-

कैलालीको घोडाघोडी तालको बारेमा नसुन्ने कमै होलान्। सुखड नजिकै रहेको यो ताल पूर्व-पश्चिम राजमार्ग सँगै जोडिएको छ।

घोडाघोडी तालबाट करिब १ किलोमिटर पश्चिममा सिमथरी चोक पर्दछ। सोही चोकबाट करिब ३ किलोमिटर उत्तरतर्फ माघी भन्ने गाउँ छ।

थारु समुदायको बाहुल्यता रहेको माघी गाउँमा घरबास कार्यक्रम सञ्चालनमा छ। यो क्षेत्रमा पहाडी समुदायहरू पनि उत्तिकै छन्।

सिमथरी चोक वा सुखडबाट तीन पाङ्ग्रे ट्याम्पोमा प्रतिव्यक्ति ८० देखि १०० रुपैयाँमा माघी होमस्टे पुग्न सकिन्छ। होमस्टेसम्म सबै खालका निजी गाडी/मोटरसाइकलहरूमा पनि सहजै आउन सकिन्छ।

धनगढी विमानस्थल सबै भन्दा नजिकको हवाई यातायात हो। विमानस्थलबाट सार्वजनिक बसमा सिमथारी चोक हुँदै (१.५ घण्टामा), कार (३ हजार) वा स्कोरपियो (३५ सय देखि ४ हजार र तेल खर्च) रिजर्भ गरेर पनि माघी होमस्टेसम्म आउन पनि सकिन्छ।

पाहुनाको अनुरोधमा मंग्रहुवा, सखिया, झुम्रा, लाठी, देउडा, हुड्के नाँच देखाउन तयार हुन्छन् थारु समुदाय। यसका साथै लोपोन्मुख खेलहरू साई किचकिच, छुर, टिटी, कोइली दिदी आदीको पनि अवलोकन गर्न सकिन्छ।

स्थानीय घर, खेतीपाती, रहनसहन आदिले बाहिरबाट घुम्न जानेहरूको लागि समय बितेको पत्तो हुँदैन।

घोडाघोडी ताल नेपालको पहिलो वर्ड सेन्चुरी पनि हो। प्रकृतिमा रमाउन चाहनेहरूको लागि यो ठाउँ उत्कृष्ट गन्तव्य हो।

मानिसको आवाजसँगै पानीको मात्रा बढ्ने सिता कुवाले पनि धेरैको मन आकर्षित गराउँछ। रारा जाने बाइकरहरुले एक रात बिताउने गज्जबको गन्तव्य पनि हो यो।

यो थोरै रकमको प्याकेजमा (८००-१००० रुपैयाँ प्रतिरात) उत्कृष्ट सेवा लिने ठाउँ हो। एक चोटि अवश्य जानु होला। अहिलेलाई भने केही फोटोहरू हेरौँ :



ट्रेन्डिङ पोस्ट

Ncell