PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नयाँ इतिहास कोर्न दुई खेल बाँकी : कुवेतसँग जित किन छ नेपालका लागि अनिवार्य?



मुकुन्द घिमिरे

नयाँ इतिहास कोर्न दुई खेल बाँकी : कुवेतसँग जित किन छ नेपालका लागि अनिवार्य?

काठमाडौं : नेपालले ठ्याक्कै कुन स्तरमा खेल्छ? क्रिकेटलाई थोरैमात्र फलो गर्ने नेपालीको सदावहार प्रश्न हो यो। त्यस्ता व्यक्तिको दोस्रो प्रश्न हुने गर्छ- नेपालले भारत वा पाकिस्तानजस्ता देशसँग कहिले खेल्छ?

काठमाडौंमा यतिखेर एसीसी प्रिमियर कप चलिरहेको छ। यस प्रतियोगितालाई ‘रोड टू एसिया कप’का रुपमा एसियन क्रिकेट काउन्सिल (एसीसी)ले व्याख्या गर्दै आएको छ।

प्रतियोगिताको समूह चरणका खेल सकिसकेका छ। र, चार टोली सेमिफाइनलमा पुगेका छन्। त्यसमध्ये सेमिफाइनलमा पुगेको नेपालले शनिवार कुवेतविरुद्ध खेल्दैछ।

शनिवार नै अर्को सेमिफाइनलमा यूएई र ओमन मुलपानी क्रिकेट मैदानमा हुनेछन्। दुवै खेलका विजेताबिच सोमवार फाइनल खेल हुनेछ। सँगै प्रतियोगिता समापन पनि।

+++

‘हो। नेपालले भारत र पाकिस्तानसँग खेल्छ’, धेरैको प्रश्नको यो जवाफ- सेमिफाइनल र फाइनल म्याचले निर्धारण गर्दैछ। शनिवार कुवेतसँगको खेल र त्यसमा जित निकालेर सोमवारको फाइनलमा पनि जित निकाले माथिकै जवाफ आउने छ। अर्थात्, लामो प्रतीक्षा र सपना पूरा गर्न नेपालसामु दुई जितमात्र पछाडि छ।

कुवेतलाई जितेर पनि फाइनलमा पराजित भए के हुन्छ त?

एसीसीको रोडम्याप अनुसार भारत र पाकिस्तान लगायतका टेस्ट राष्ट्रसँग खेल्ने अवसर नेपाललाई फेरि पनि हुनेछ। खेल चाहिँ एसीसी इमर्जिङ कपमा। तर, यसमा आउने टेस्ट राष्ट्रको मुख्य टोली नभएर त्यहाँ ‘ए’ वर्गको टोली हुनेछ।

दुई अवसर। दुई खेल। तर, नेपाल दोस्रो अवसर पर्खने सुरमा छैन।

प्रशिक्षक मोन्टी देसाइले भविष्य (एसिया कप) सोचेर खेल्न प्रोत्साहित गरिरहेको सोमपाल कामी बताउँछन्।

‘ठूलो अवसर हो। पहिला एसिया कपमा हङकङ यूएई खेलिसकेका छन्। हामीलाई पनि अवसर हुनेछ। हामीलाई फ्युचरका लागि सोच भनिरहनु भएको छ। पछि कसरी भारतसँग बलिङ ब्याटिङ गर्छौं भन्नुहुन्छ। अहिलेलाई सजिलो छ,’ उनले ओमनसँगको खेलपछि भनेका थिए।

चिन्ता के?

शनिवार नेपाल र कुवेत फाइनल पुग्नका लागि प्रतिस्पर्धामा उत्रँदैछन्। नेपालको लागि चिन्ताको विषय खासगरी ब्याटिङमा हो। प्रतियोगिता भर हातमा पराजयमात्र ब्योहोरेको कतारसँग नेपाल १५७ रनमै अल आउट हुनु अनपेक्षित थियो। त्यसबाहेक यस प्रतियोगितामा ओपनिङ साझेदारी नेपालको रेकर्ड राम्रो छैन।

प्रतियोगिताको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालको पहिलो विकेटका लागि ५ रनको साझेदारी र दोस्रो विकेटका लागि ४८ रनको साझेदारी बनेको थियो। दोस्रो खेलमा ओमनविरुद्ध नेपालको ओपनिङ साझेदारी शून्य रनको थियो।

दुवै ओपनर खाता नखोल्दै आउट भएका थिए। तेस्रो खेल टस पनि नभइ रद्द भयो भने चौथो खेलमा पहिलो विकेटका लागि ३ रन र दोस्रो विकेटका लागि ६ रनको साझेदारी बनेको थियो। अझ ९ विकेट गुमाउँदा १११ रनको दयनीय अवस्था थियो।

तर, नेपाली टोलीको सकारात्मक पक्ष पनि उत्तिकै छन्। दुवै ओपनर डकआउट भएको खेलमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा आफ्नो सबैभन्दा ठूलो स्कोर खडा गरेको छ - ३१० रनको। त्यस्तै, टोली सीमित खेलाडीमा निर्भर नभएर म्याचैपिच्छे फरक म्याच विनर बनिरहेका छन्। जसलाई प्रशिक्षक देसाइले सकारात्मक पाटोको रुपमा वर्णन गर्छन्।

‘ब्याटिङमा हामी राम्रो गर्न सक्थ्यौं। खासगरी टप अर्डरमा,’ कतारसँगको जितपछि नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले भनेका थिए।

दश टोली सम्मिलित प्रिमियर कपमा तीन ओडीआई मान्यता प्राप्त राष्ट्र नेपाल, यूएई र ओमन रहेका छन्। अर्थात्, प्रतियोगिताको दावेदारीमा यिनै तीन टोलीको नाम अगाडि देखिन्छ।

त्यस्तै, ओडीआई मान्यता नभए पनि विश्वकपसम्मको अनुभव बोकेको टोली हो - हङकङ। अर्थात्, प्रतियोगिताको दाबेदार यिनै टोली हुने अनुमान प्रतियोगिता अघिदेखिकै हो।

तर कुवेतले आफ्नो प्रदर्शन सुधार्दै हङकङलाई हराइदियो। समूह विजेता यूएईलाई हराएको हङकङ कुवेतसँग पराजित बन्दै प्रतियोगिताबाट बाहिरिँदा नेपालले पक्कै कुवेतलाई ‘अण्डर भ्यालु’ गर्नसक्ने अवस्था रहँदैन।

अर्कातर्फ पछिल्लो खेलमा नेपाली ब्याट्सम्यान कतारका बलरसामू निरीह सावित भए।

‘यो स्कोर मेरो अपेक्षाको थिएन। कतारसँग टेस्ट भयो। बुझ्नुपर्ने कुरा भनेको हरेक खेलमा नयाँ योजना र रणनीति हुन्छ। शीर्ष चारबाट कसैले ठूलो साझेदारी नबनाउँदा सम्मानजनक लक्ष्य हुन सकेन,’ प्रशिक्षक देसाइले खेलपछि भनेका थिए।

एसियाकप खेल्ने हुँदा कतारसँगको प्रदर्शन कतिको भयानक?

कतारसँगको खेललाई हेरेर एसिया कपसँग तुलना गर्न नमिल्ने देसाइको बुझाइ छ।

‘एसिया कप एकदमै अर्को स्तरको प्रतियोगिता हो। त्यसमा आईसीसीका पूर्ण सदस्यसँग खेल्नु विल्कुल फरक कुरा हो। हामीले यसअघिका खेलहरु परिपक्वता देखाएका छौं’, उनले भने, ‘सिचुवेसनल अवेरनेस कतारसँगको खेलमा कायम राख्न सकेनौँ। नयाँ अनुभवबाट सिकिन्छ। यो अनुभव थियो। यसबाट सिक्नुपर्नेछ।’

प्रतियोगिताका हरेक खेलाबाट खेलाडीले स्ट्रेन्थ बढाएको बताउँदै नयाँ रणनीतिमा समेत काम गरेको देसाइको भनाइ छ।

नेपालको सेमिफाइनलमा अपेक्षा गरेजस्तो प्रतिस्पर्धी पाएको हो त?

‘विपक्षी जोसुकै आवस्। मलाई लाग्छ, एउटा गौरवको कथा बनाउने यात्रामा हुनुहुन्छ भने विपक्षीको चिन्ता हामीले गर्ने भन्ने मलाई लाग्दैन’, उनले भने, ‘आफ्नो लागि के उपयुक्त हुन्छ हामीले त्यसमा केन्द्रित हुने हो। हामीले जे गरिरहेका छौँ, त्यसमा बलियो हुने हो।’

प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमन, साउदी अरेबिया र कतार थिए भने समूह ‘बी’मा हङकङ, बहराइन, यूएई, कुवेत र सिंगापुर।

दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्। र, फाइनल पुग्ने दुई टोलीमध्ये विजेताले एसीसी एसिया कपमा स्थान बनाउने छ। र, एसियाका शीर्ष राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, शीर्ष तीन टोलीले इमर्जिङ एसिया कपमा प्रतिस्पर्धा गर्नेछन् जसमा एसियाली टेस्ट राष्ट्रहरुको ‘ए’ टिमको सहभागिता रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell