काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले राम्रो सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका हुन्। यद्यपि दोस्रो विकेटका लागि भने साझेदारी बनेन।
नेपालले यो समाचार तयार पार्दासम्म १५ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएको छ। क्रजमा रोहित पौडेल ६ र कुशल मल्ल १० रनका साथ छन्।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रामक ब्याटिङ गरे। उनीहरुले ७७ रनको ‘ओपनिङ पार्टनरसिप’ गरे। यो ‘ओपनिङ पार्टनरसिप’ यस प्रतियोगितामा नेपालको उत्कृष्ट हो।
३९ बल खेलेका कुशलले ७ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाउँदा १०.५ ओभरमा अद्नान इड्रिसको बलमा क्याचआउट भए। दोस्रो विकेटको रुपमा नेपालले भीम सार्कीलाई गुमायो। उनले १ रन मात्रै बनाउन सके।
२८ बल खेलेका अर्का ओपनर आसिफ शेख ३१ रन जोडेर १२.२ ओभरमा मोहम्मद अस्लामको बलमा क्याच आउट भए।
सेमिफाइनलको खेलमा जारी प्रतियोगितामा नेपालको ओपनिङमा खराब लयलाई तोडेका हुन्। जारी प्रतियोगितामा ओपनिङ साझेदारी नेपालको रेकर्ड राम्रो छैन।
प्रतियोगिताको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालको पहिलो विकेटका लागि ५ रनको साझेदारी र दोस्रो विकेटका लागि ४८ रनको साझेदारी बनेको थियो। दोस्रो खेलमा ओमनविरुद्ध नेपालको ओपनिङ साझेदारी शून्य रनको थियो।दुवै ओपनर खाता नखोल्दै आउट भएका थिए।
तेस्रो खेल टस पनि नभइ रद्द भयो भने चौथो खेलमा पहिलो विकेटका लागि ३ रन र दोस्रो विकेटका लागि ६ रनको साझेदारी बनेको थियो। अझ ९ विकेट गुमाउँदा १११ रनको दयनीय अवस्था थियो।
नेपाल टस हारेर सुरुवाती ब्याटिङमा उत्रने भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा कुवेतले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको हो।
नेपालको प्लेइङ ११ मा अघिल्लो खेल खेलेका गुलसन झा बाहिरिएका छन् भने उनको स्थान करण केसीले लिएका छन्।
आजको खेलमा जित निकाल्ने टोलीले ओमन र यूएईबीचको विजेतासँग फाइनल खेल्नेछ। फाइनलमा पनि जित निकाल्ने टोलीले एसिया कप खेल्नेछ।
प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमन, साउदी अरेबिया र कतार थिए भने समूह ‘बी’मा हङकङ, बहराइन, यूएई, कुवेत र सिंगापुर।
दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्। र, फाइनल पुग्ने दुई टोलीमध्ये विजेताले एसीसी एसिया कपमा स्थान बनाउने छ। र, एसियाका शीर्ष राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, शीर्ष तीन टोलीले इमर्जिङ एसिया कपमा प्रतिस्पर्धा गर्नेछन् जसमा एसियाली टेस्ट राष्ट्रहरुको ‘ए’ टिमको सहभागिता रहनेछ।
नेपाली टोली
रोहितकुमार पौडेल, आशिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्कि, करण केसी, सोमपाल कामी, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी