काठमाडौँ: एसीसी प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपालले कुवेतविरुद्ध २ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। वर्षाले वाधा गरेपछि ४२ ओभरमा छोट्याएर खेलाइएको खेलमा रोहितकुमार पौडेलको सानदार प्रदर्शनमा निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको हो। डीएल मेथडका कारण कुवेतले २८१ रनकै लक्ष्य पाएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल वाधित भएको थियो। खेल सुरु भएपछि कप्तान पौडेलले अर्धशतकीय पारि खेले। उनले ९५ बलमा ७ चौका र ३ छक्काको सहायतामा ९४ रन बनाए। ४०.५ ओभरमा छक्का प्रहार गर्दै शतक पुर्याउने सुरमा बाउन्ड्रीलाइनमा क्याच आउट भए।
त्यस्तै कुशल मल्लले त्यसैको अर्को बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। मल्लले ४२ बलमा ४ चौका र ३ छक्काको सहायतामा अर्धशतक पुरा गरेका हुन्।
पहिलो विकेटका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। भूर्तेलले ४३ रन बनाएर पहिलो विकेटका रुपमा १०.५ ओभरमा एडनन इड्रेसको बलमा क्याचआउट भए। दोस्रो विकेटका रुपमा भीम सार्की १ रन बनाएर मोहम्मद अस्लमको बलमा क्याचआउट भए। त्यस्तै तेस्रो विकेश आशिफको गयो। उनले ३१ रन बनाएर इड्रेसकै बलमा क्याचआउट भए।
चौथो विकेटका रुपमा कुशल मल्ल ५७ रन बनाएर आउट हुँदा पाँचौ विकेट आरिफ शेखको गयो। ३५.२ ओभरमा १९ रन बनाएर खेलिरहेका आरिफ शेख रन आउट भए। त्यसपछि आएका दीपेन्द्रसिंह ऐरीले पनि लय समात्न सकेनन्। २ बलमा उनी डकआउट हुँदा सन्दीप लामिछाने ५ रन बनाएर आउट भए। ३६.३ ओभरमा मोहम्मद अस्लमको बलमा क्याच आउट भए।
बलिङतर्फ कुवेतका मोहम्मद अस्लम र एडनन इड्रेसले समान ३ विकेट लिँदा यासिन पटेल र सायेद मुनिबले समान १ विकेट लिए।
मुलपानीमा भने यूएई र ओमनबीचको खेल जारी छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ओमनसामू २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाली टोली
रोहितकुमार पौडेल, आशिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्कि, करण केसी, सोमपाल कामी, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी