PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, सोमवार युएईसँग भिड्ने



पहिलोपोस्ट

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, सोमवार युएईसँग भिड्ने

काठमाडौं : एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेललाई वर्षाले वाधा गरे पनि समूह विजेताका हिसाबले नेपाल फाइनल प्रवेश गरेको हो।

प्रिमियर कपको समूह 'ए'बाट नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो भने समूह 'बी'बाट कुवेत उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।

शनिवार सेमिफाइनल खेलमा नेपाल र कुवेत बिचको खेल चलिरहँदा फेरि वर्षाले खेलमा वाधा गरेको थियो। पहिलो इन्निङ्समा नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि ४२/४२ ओभरमा खेल छोट्याइएको थियो।

नेपालले ४२ ओभरमा दिएको २८१ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएर खेलिरहँदा पानी परेको थियो। त्यसपछि खेल सञ्चालन हुन नसक्दा नेपालले फाइनलको यात्रा तय गरेको हो।

वर्षाले वाधा गरेपछि ४२ ओभरमा छोट्याएर खेलाइएको खेलमा रोहितकुमार पौडेलको सानदार प्रदर्शनमा निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल वाधित भएको थियो। खेल सुरु भएपछि कप्तान पौडेलले अर्धशतकीय पारि खेले। उनले ९५ बलमा ७ चौका र ३ छक्काको सहायतामा ९४ रन बनाए। ४०.५ ओभरमा छक्का प्रहार गर्दै शतक पुर्‍याउने सुरमा बाउन्ड्रीलाइनमा क्याच आउट भए।

त्यस्तै कुशल मल्लले त्यसैको अर्को बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। मल्लले ४२ बलमा ४ चौका र ३ छक्काको सहायतामा अर्धशतक पुरा गरेका हुन्।

पहिलो विकेटका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। भूर्तेलले ४३ रन बनाएर पहिलो विकेटका रुपमा १०.५ ओभरमा एडनन इड्रेसको बलमा क्याचआउट भए। दोस्रो विकेटका रुपमा भीम सार्की १ रन बनाएर मोहम्मद अस्लमको बलमा क्याचआउट भए। त्यस्तै तेस्रो विकेश आशिफको गयो। उनले ३१ रन बनाएर इड्रेसकै बलमा क्याचआउट भए।

चौथो विकेटका रुपमा कुशल मल्ल ५७ रन बनाएर आउट हुँदा पाँचौ विकेट आरिफ शेखको गयो। ३५.२ ओभरमा १९ रन बनाएर खेलिरहेका आरिफ शेख रन आउट भए। त्यसपछि आएका दीपेन्द्रसिंह ऐरीले पनि लय समात्न सकेनन्। २ बलमा उनी डकआउट हुँदा सन्दीप लामिछाने ५ रन बनाएर आउट भए। ३६.३ ओभरमा मोहम्मद अस्लमको बलमा क्याच आउट भए।

बलिङतर्फ कुवेतका मोहम्मद अस्लम र एडनन इड्रेसले समान ३ विकेट लिँदा यासिन पटेल र सायेद मुनिबले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कुवेतका कप्तान मोहम्मद अस्लमबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालका करण केसी एक्लैले ५ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिएका छन्।

मुलपानीमा भएको अर्को सेमिफाइनलमा यूएई र ओमनबीचको खेल झरीकै कारण केहीबेर रोकिएको थियो। उक्त खेलमा युएई २ रनले बिजयी भएको छ। डीएलएस मेथड अनुसार युएईले झिनो रनले जित निकालेको हो।

युएईले बनाएको २ सय ३६ रनको योगफल पछ्याउने क्रममा ओमनले ४३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन जोडेको थियो। झरीका कारण त्यसपछि खेल अवरुद्ध हुन पुग्यो। अन्तत: अत्यन्तै प्रतिस्पर्धात्मक खेल ओमनले २ रनले गुमायो।

आजको जितसँगै नेपालले एसीसी इमर्जिङ कप खेल्ने पक्का भएको छ। एसीसी इमर्जिङ कपमा प्रिमियर कपका शीर्ष तीन टोलीले प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगितामा टेस्ट राष्ट्रका 'ए' टोलीको सहभागिता रहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell