PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

'ओ पेङ्दोर्जे!' को विमोचन युद्धमा हात गुमाएकी लडाकुबाट : चन्दा उठाउन योग्यता पुगेन



पहिलोपोस्ट

'ओ पेङ्दोर्जे!' को विमोचन युद्धमा हात गुमाएकी लडाकुबाट : चन्दा उठाउन योग्यता पुगेन

काठमाडौं : पूर्व लडाकु प्रवीना गोलेलाई पत्रकार राजु स्याङ्तानले आफ्नो कविता सङ्ग्रह 'ओ पेङ्दोर्जे!' उपहार प्रदान गरे। शनिवार काठमाडौंको कालिकास्थानमा रहेको नेपालयको सभाहलमा उक्त कविता सङ्ग्रह गोलेलाई प्रदान गरेसँग कृतिको विमोचन भयो। 

पूर्वसभामुखसमेत रहेका अग्नि सापकोटाको सुरक्षार्थ खटिने क्रममा युद्धमा हात गुमाएकी गोलेबाट कृति विमोचन गर्न पाउँदा आफूलाई खुसी लागेको स्याङ्तानले बताए। 'हामी सपना बोकेर हिँडेका थियौं। म गितार हार्मोनियम तबला बोकेर अर्को लाइनमा उभिँदा अर्को लाइनमा बन्दुक बोकेर साथी उभिनुहुन्थ्यो। उहाँ संयोगले एउटा आक्रमणमा पर्नुभयो। अहिले सभामुख बन्नुभएको अग्नि सापकोटाकै सुरक्षार्थ खटिनुभएको थियो,' स्याङ्तनले भने, 'त्यहाँ उहाँ घाइते हुनुभयो उहाँले आफ्नो एउटा हात पनि गुमाउनुभयो। उहाँ पनि पेङ्दोर्जेको सन्तान, म पनि पेङ्दोर्जेको सन्तान, हामी दुबै जनाले डम्फु बजाउन पाएनौं। त्यसैले म कृति उहाँलाई उपहारस्वरुप प्रदान गर्न चाहन्छु।' द्वन्द्वका बेला सिन्धुपाल्चोकको ठोकर्पामा भएको दोहोरो भिडन्तमा प्रवीनाले हात गुमाएकी थिइन्।

चन्दा उठाउन योग्यता पुगेन

कवि स्याङ्तानले युद्ध सकेर काठमाडौं पस्दा कहिलेकही उतै मरिसकेको जस्तो अनुभव पनि सुनाए। 'कहिलेकही कस्तो लाग्दोरहेछ भने यो सपना हो कि विपना हो कि। एकदम धेरै मान्छे मरेको आफैले  हातले गाडेको त्यो एउटा परिवेशबाट आउनेहरुलाई चाहि म हिजो कतै उतै मरिसकेको जस्तो लाग्ने रहेछ,' विमोचन कार्यक्रममा उनले भने, 'धार्मिक पनि लाग्ने कतै हंसमात्र हो कि भनेर झल्यास्स हुने रहेछ। साथीहरु माझ पाउँदा रियल दुनियाँमै रहेछु झै लाग्छ।'

युद्धमा धेरैले विभिन्न वस्तु पाएपनि आफूजस्तो युवाले भने पेटभरी भात खाने र पढ्नबाहेक अरु नपाएको स्याङ्तानको भनाई थियो। 'युद्धमा हिड्दा धेरैका लागि युद्ध कहालीलाग्दो समय बन्यो। म र मजस्ताका लागि तीनवटा प्राप्त भयो। भात पेटभरी खान पाए, मलाई तपाई भने पहिलोपटक। तेस्रो कुरा मैले पढ्न पाएँ,' उनले भने। युद्ध सकेपछि चन्दा उठाउन नपाउँदा आफूजस्ता कैयान् युवाहरु पछि परेको उनको भनाई थियो। माओवादी युद्धमा फाइदा उठाउन सक्ने सत्तामा पुगेकोतिर लक्षित गर्दै स्याङ्तनले आफूजस्ता युवाले भने चन्दा उठाउने योग्यता नै नपुगेको बताए। 'एक त चन्दा उठाउन जानिएन। चन्दा उठाउन जाउ भन्दा कोट लगाउ भने। आफूसँग कोट किन्ने पैसा भएको भए किन चन्दा उठाउन जानु। त्यही असफल भए। अर्को कुरा गाउँ फर्किन सकिनँ। स्कुलमा कहिल्यै अगाडि उभिन नसक्ने मान्छे। कक्षा ६ बाट बाँचे फर्केर आउला मरे सकियो भनेर भाषण ठोकेर युद्धमा हिँडेको मान्छे। तर अब के मुख लिएर गाउँमा जाने?' स्याङ्तनले भने, 'के गर्ने के गर्ने कहाँ हराए भनेजस्तो भएपछि आमाको कथा लेख्न थाले।'

विमोचनमा स्याङ्तानले 'रामबहादुर मार्ग' शीर्षकको कविता सुनाए। कृतिको विश्लेषक हरि शर्माले समीक्षा गरे। कृतिमा भएका कविताले विभेदबारेको सशक्त आवाज उठाएको शर्माको भनाई थियो। 'कवितामा महिलाको थिम छ। आमा हजुरआमाको थिम छ। पावरको नजिक बसेर पनि केही गर्न नसकेको विम्बाहरु प्रयोग गरिएको छ,' शर्माले भने।

लेखकले सपनाका कुरा गरे पनि यथार्थ फरक हुने उनको भनाई थियो। 'कल्पना र सपनाको कुरा पनि गर्नुभयो। दुईवटा टेन्सन छ। सपना देख्नु ठूलो हैन। तर यथार्थमा झरेपछि फरक हुन्छ,' शर्माले भने।

‘एउटा समुदायबाट उठेको मानिस उसको वरपरको विभिन्न थिचोमिचो, सहयोग र असहयोगको बीचबाट हुर्कँदा हुर्कँदै बजार र विश्वव्यापीकरणसँग जुध्न पुग्छ,’ शर्माले थपे, ‘परिणाममा बजार, समाज र पूँजीवादको बन्दी भएका कविको वेदना र पीडा यसमा सशक्त ढंगले प्रतिविम्वित भएको छ।’ एकठाउँ कविले अफगानिस्तानको राजधानीको सन्दर्भ उल्लेख गर्दै शर्माले कुनै कविको कल्पनाशीलता यस रुपमा पाउँदा आश्चर्यसमेत प्रकट गरे। यसरी विम्ब र प्रतिविम्ब प्रयोग गर्दै कल्पनाहरुलाई सशक्त ढंगले उभ्याउने राजुलाई आफुले समग्रमा भने यथार्थवादी कविका रुपमा पाएको शर्माले बताए।

कार्यक्रममा नयाँ पुस्ताका कवि राजुका बारेमा अघिल्ला पुस्ताका कवि श्रवण मुकारुङले चिनारी प्रस्तुत गरेका थिए।

‘मैले नछुटाईकन पढ्ने अहिलेका कविहरु माझ राजुको कविता पढ्ने गरेको छु,’ कार्यक्रममा मुकारुङले भने, ‘राजु उनको परिवेशलाई आम पाठकको मर्ममा छोएर प्रस्तुत गर्न प्रखर देखिएका छन्।’

त्यस अवसरमा राजुले पुस्तकमा अटाएका दुइवटा कविता वाचन गरेर सुनाएका थिए।

स्याङ्तानको यो पहिलो कवितासङ्ग्रह हो। नेपालयले बजारमा ल्याएको कृतिमा विभिन्न विधाका ५१ कविता छन्। १५० पृष्ठको कृतिको मुल्य ३४५ रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell