काठमाडौं : एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई प्रतिस्पर्धा गर्ने भएका छन्। शनिवार सेमिफाइनल अन्तर्गत कीर्तिपुरमा सम्पन्न नेपाल र कुवेतबीचको खेलबाट नेपाल र मुलपानीमा सम्पन्न यूएई र ओमनबीचको खेलबाट यूएईले फाइनलमा स्थान बनाएका हुन्।
शनिवार सेमिफाइनल खेलमा नेपाल र कुवेत बीचको खेल चलिरहँदा फेरि वर्षाले खेलमा वाधा गरेको थियो। पहिलो इन्निङ्समा नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि ४२/४२ ओभरमा खेल छोट्याइएको थियो।
नेपालले ४२ ओभरमा दिएको २८१ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएर खेलिरहँदा पानी परेको थियो। त्यसपछि खेल सञ्चालन हुन नसक्दा नेपालले फाइनलको यात्रा तय गरेको थियो।
त्यस्तै मुलपानीमा सम्पन्न खेलमा यूएईले ओमनलाई डीएल मेथडबाट २ रनको जित निकाल्यो। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३६ रन बनाएको थियो। यूएईका लागि मोहम्मद वसीमले सर्वाधिक ४८ रन बनाउँदा रमीज सहजादेल ४६ रन बनाएका थिए। त्यस्तै
आशिफ खान र वसील हमीदले समान ३४ रन बनाए। त्यस्तै आर्यन लार्काले २४ तथा बृत्य अरबिन्दले १८ रन बनाए।
बलिङतर्फ ओमनका बिलाल खान र जेसन मक्सुदले समान ४ विकेट लिँदा आयन खानले २ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको ओमन ४४ औँ ओभरमा ६ विकेट गुमाएर १९० रनमा खेलिरहँदा वर्षाले खेल बाधा गरेपछि डिएलमेथडबाट २ रनको पराजय ब्यहोर्न पुग्यो। ओमनका कश्यप प्रजापतिले सर्वाधिक ४९, जतिन्दर सिंहले ४२, कप्तान जेसन मक्सुदले ४०, तथा मोहम्मद नदीमले अविजित २४ रन बनाए।
बलिङतर्फ यूएईका कार्तिक मियप्पनले ३, बसील हमीदले २ तथा जहुर खानले १ विकेट लिए।
आइतवार तेस्रो स्थानका लागि ओमन र कुवेत प्रतिस्पर्धा गर्नेछन् भने उपाधिका लागि नेपाल र यूएई सोमवार प्रतिस्पर्धा गर्नेछन्।