PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कपन निरु हत्या प्रकरण : एकजना बाउन्सर समातिए, प्रहरीले सोध्दा भने,'सुनको लागि हत्या गरें'



सविन ढकाल

कपन निरु हत्या प्रकरण : एकजना बाउन्सर समातिए, प्रहरीले सोध्दा भने,'सुनको लागि हत्या गरें'

काठमाडौं : कपनमा निरु पाण्डे आचार्यको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। झापा घर भएका डिस्कोतिर बाउन्सरको काम गर्दै आएका विनोद विकलाई प्रहरीले पक्राउ गरेको हो।

अनुसन्धान जटिल बन्दै गएपछि एआइजीको नेतृत्वमा गठित समितिले एक युवकलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको हो। काठमाडौंबाट झापा पुगेको टोलीले विकलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।

बैशाख ७ गते दिउँसो कपनको सरस्वती नगरमा पसल चलाउँदै आएकी  बागलुङको वडिगाढ गाउँपालिका घर भएकी ३५ वर्षीय निरा आचार्य पाण्डेको हत्या भएको थियो। उनको शरीरमा धारिलो हतियार प्रहार गरि हत्या भएको थियो। पक्राउ परेका युवकले सुनको गहना देखेर हत्या गरेको प्रारम्भिक रूपमा बताएका छन्।

'घाँटीमा सुन देखेर हत्या गरेको भनेको छ। तर यसलाई थप अनुसन्धान गरेर प्रमाणित गर्न बाँकी छ,' एक उच्च प्रहरी अधिकृतले भने।

पक्राउ परेका युवक हत्यापछि झापा पुगेका थिए। सो युवकले घटना भएपछि चलाउँदै आएको मोबाइलको सिम कार्ड समेत परिवर्तन गरेको देखिएको छ। त्यस्तै, लुटेर लगेको सुन पनि बिक्री गरेको उनले प्रहरीलाई बताएका छन्।

पक्राउ परेका अभियुक्तले घटनामा अरूको संलग्नता नभएको बताएका छन्। तर, प्रहरी यसलाई पनि पुष्टि गर्न अनुसन्धान गरिरहेको छ। घटना किन र कसरी भयो भन्ने ? प्रश्नको जवाफ प्रमाण सहित प्रहरी अझै पुष्टि हुने आधार खोजी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell