उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आउने दिनहरु खतरापूर्ण हुनसक्ने चेतावनी दिएकी छिन्। अमेरिका र दक्षिण कोरियाबिच भएको सम्झौताप्रति इंगित गर्दै उनले त्यसबाट 'धेरै गम्भीर खतरा' उत्पन्न हुन सक्ने बताएकी हुन्।
उनले उत्तर कोरियाले आउने दिनमा आफ्नो परमाणु शक्तिलाई थप बलियो बनाउँदै लग्नेसमेत बताएकी छिन्।
अमेरिका र दक्षिण कोरियाबिच भएको सम्झौता उत्तर कोरियाको परमाणु क्षमतामाथि नै लक्षित छ। जसमा अमेरिकाले उत्तर कोरियालाई चुनौती दिन दक्षिण कोरियामा परमाणु हतियार तैनाथ गर्ने र सोलको परमाणु कार्यक्रममा सहयोग गर्ने उल्लेख छ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल्सबिच भएको 'वासिङ्टन सम्झौता' प्रति उत्तर कोरिया क्रुद्ध बनेको हो। सो सम्झौता अन्तर्गत अमेरिकाले दक्षिण कोरियामा परमाणु हतियारसहितको पनडुब्बी र परमाणु बम लग्ने युद्धक विमान तैनाथ गर्नेछ। उत्तर कोरियाले विकास गरिरहेको परमाणु हतियारप्रति चिन्ता व्यक्त गर्दै दुई देशले यस्तो सहमति गरेको हो। यो सम्झौता अन्तर्गत दक्षिण कोरियाले आफै परमाणु हतियार बनाउन पाउने छैनन्।
'दुश्मन जति परमाणु युद्धप्रति अग्रसर हुनेछन् र कोरियाली प्रयाद्वीपमा जति परमाणु अतियार तैनाग गर्नेछन्। हामी त्यति नै शक्तिले हाम्रो जवाफ दिन हाम्रो अधिकारको प्रयोग गर्नेछौं,' किम यो जोङले चेतावनी दिँदै भनेकी छिन्।
अमेरिका र दक्षिण कोरियाबिच भएको सो सम्झौताले पूर्वी एसियामा मात्रै नभइ विश्वकै शान्ति र सुरक्षामा खतरा पुग्ने उनले बताएकी छिन्।