PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

एसीसी प्रिमियर कपको फाइनल खेलमा पानी परे के होला?



पहिलोपोस्ट

एसीसी प्रिमियर कपको फाइनल खेलमा पानी परे के होला?
फाइल फोटो

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत शनिवार सेमिफाइनल खेलमा नेपाल र कुवेतबीचको खेल रद्द हुँदा नेपाल समूह विजेताको हैसियतले फाइनल पुग्यो। शनिवार नै मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा यूएई र ओमनबीचको खेलमा पनि वर्षा हुँदा युएई फाइनल पुग्यो। ओमनले जवाफी ब्याटिङ गरिरहँदा वर्षाले खेलमा बाधा गरेपछि यूएईले डीएल मेथडबाट खेल जित्यो।

आइतवार तेस्रो स्थानका लागि ओमन र कुवेतको प्रतिस्पर्धा जारी छ। यो खेलमा पनि वर्षा हुन नछाड्दा फाइनलमा के होला? भन्ने चासो पनि बढेको छ। च्याम्पियन बन्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।

जल तथा मौसम पूर्वानुमान शाखाले सोमवार र मंगलवार पनि वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ।

'देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' सोमवारको मौसमबारे पूर्वानुमान शाखाको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै मंगलवार पनि वर्षाको सम्भावना रहेको जनाएको छ।

'देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।' मंगलवारको मौसमबारे शाखाको पूर्वानुमानमा भनिएको छ।

सोमवार नेपाल र यूएईबीच फाइनल खेल हुन नसके सुपर ओभर हुने र सुपर ओभर पनि हुन नसकेको खण्डमा मंगलवार रिजर्भ डे रहेको छ। मंगलवार पनि खेल हुन नसकेको खण्डमा भने नेपाल च्याम्पियन बन्ने सम्भावना प्रबल रहन्छ।

'फाइनल खेलमा मौसमले साथ दिइयोस् भन्ने हाम्रो कामना हो। तर, रिजर्भ 'डे'मा पनि खेल हुन नसके वरीयताका आधारमा विजेता हुनेछ भन्ने अहिलेसम्मको बुझाइ हो,' नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्तासमेत रहेका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने, 'तर, एसीसीले स्पस्ट रुपमा फाइनल खेल हुन नसके के हुने भनेर उल्लेख गरेको छैन।'

प्रतियोगितामा नेपाल अपराजित टोली हो भने समूह चरणमा यूएईले हङकङसँग पराजय ब्यहोरेको थियो। आइसीसीको एकदिवसीय वरीयतामा नेपाल १४ औँ स्थानमा छ भने यूएई १९ औँ स्थानमा छ। 

प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमन, साउदी अरेबिया र कतार थिए भने समूह ‘बी’मा हङकङ, बहराइन, यूएई, कुवेत र सिंगापुर। समूह 'ए'बाट नेपाल विजेता र ओमन उपविजेता बन्दै सेमिफाइनल पुगेका थिए। समूह 'बी'बाट यूएई विजेता र कुवेत उपविजेता बन्दै सेमिफाइनल पुगेका थिए। सेमिफाइनलमा नेपाल र कुवेतको खेल वर्षाले बाधा गर्दा नेपाल समूह विजेताको हैसियतमा फाइनल पुगेको थियो भने यूएईले ओमनलाई डीएल मेथडबाट हराउँदै फाइनलको यात्रा तय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell