PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

निरुको हत्यापछि ओम हस्पिटलबाट टेम्पो चढेर जडीबुटी, ६ दिन लोकन्थली बसेर सीधै झापा



सविन ढकाल

निरुको हत्यापछि ओम हस्पिटलबाट टेम्पो चढेर जडीबुटी, ६ दिन लोकन्थली बसेर सीधै झापा

काठमाडौं : कपन सरस्वतीनगरकी निरा आचार्य पाण्डे(निरु)को हत्या सुनको सिक्री लुट्नको लागि भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। हत्या अभियोगमा पक्राउ परेका युवकको बयान र घटनास्थलको सीसीटीभी क्यामेराको फुटेजको अध्ययनबाट प्रहरीले घटनाबारे नयाँ पाटाहरु पत्ता लगाएको हो।

प्रहरीका अनुसार विनोद विक वैशाख ७ गते दिउँसो लोकन्थलीबाट ११ बजेतिर बसमा चढेर चाबहिल पुग्छन्। त्यसपछि २ बजेर ३३/३४ मिनेटमा उनी निराको पसल छिर्छन्।

केही समय सामान हेरेर निस्किएका उनी फेरि २ बजेर ४४ मिनेटमा पसल पस्छन्। त्यही बेला विनोदले निरुको हत्या गरेको प्रहरीको दाबी छ। त्यही पसलमा भएको छुरी प्रहार गरी विनोदले निराको हत्या गरेको प्रहरीले बताएको छ।

हत्यापछि उनी त्यहाँबाट निस्किएर ओम हस्पिटलबाट टेम्पो चढेर जडीबुटी पुग्छन्। अनि मोटरसाइकलमा कोठामा पुग्छन्। उनी लोकन्थलीस्थित साथीको कोठामा बस्थे। विनोदले निराको हत्या सिक्री लुट्नको लागी गरेको प्रहरीको ठम्याइ छ।

उनी हत्यापछि ६ दिन लोकन्थली बसेर झापा पुगेको प्रहरीको अनुसन्धानमा खुलेको छ। घटना हुँदा विनोदले लगाएको पोसाक र झोलासमेत बरामद भएको सीआइबीका एसएसपी दिनेश आचार्यले बताए।

विनोदलाई प्रहरीले शनिवार झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो। उनलाई प्रहरीले झापाबाट काठमाडौं ल्याएको हो।

विनोद झापाको एक क्यासिनो काम गर्ने गरेकोसमेत खुलेको छ। जुवाको लत बसेपछि उनले केही रकम डुबाएको पनि देखिएको छ। त्यसपछि परिवारसँग खटपट हुने गरेको प्रहरीले बताएको छ।

प्रारम्भिक बयानमा उनले प्रहरीसँग घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ। केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell