PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

भिमफेदी कारागारका कैदीबन्दीले बनाएका १० हजार बढी मुढा चीन निर्यात



पहिलोपोस्ट

भिमफेदी कारागारका कैदीबन्दीले बनाएका १० हजार बढी मुढा चीन निर्यात

हेटौंडा : भिमफेदी कारागारका कैदीबन्दीहरूले उत्पादन गरेका मुढा चीन निर्यात हुन थालेको छ। रसुवागढी नाका दुईतर्फी रुपमा खुलेसँगै मकवानपुरको भिमफेदी कारागारका कैदीबन्दीहरुले बनाएका १० हजार ८० थान बाँसका मुढा चीनतर्फ निर्यात गरिएको हो।

नाका खुलेको तीन महिनाको अवधिमा भिमफदी कारागारबाट ४ लाख ३२ हजार रुपैयाँ बराबरको ७ ट्रक  बाँसका मुढा चीनतर्फ निर्यात भएको भिमफेदी कारागारका प्रमुख तिर्थराज पौडेलले बताए। कोरोनाका कारण बन्द नाका ३५ महिनापछि गत पुस १२ गतेदेखि खुलेको हो। बाँसका मुढा सस्तो र बलियो हुने भएकाले चीनमा माग बढी रहेको बताइएको छ।

दुईवटा ब्लकमा रहेका ४ सयभन्दा बढी कैदीबन्दीले दिनहुँ मुढा उत्पादन गर्ने भएकाले मासिक २६ सय बढी मुढा उत्पादन हुने गरेको प्रमुख पौडेलले जानकारी दिए। निर्यात रोकिँदा कैदीबन्दीका उत्पादन कारागारमै थन्काएर राख्नुपरेको अवस्थामा अहिले तिब्बतबाट माग आउन थालेको उनले बताए।

माग बढेका कारणले पनि कैदीबन्दीहरु अहिले मुढा बुन्नमै व्यस्थ रहेको प्रमुख पौडेलले बताए। कारागारबाट कैदीबन्दीले बुनेका मुढा व्यवसायीले संकलन गर्छन्।

सस्तो र बलियो भएकाले पनि बाँसबाट बनेका मुढाको माग चीनमा बढी छ। यहाँका मुढा चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीसम्म पुग्ने गरेको व्यवसायी बताउँछन्।

विशेषगरी चाडबाडका बेला मुढाको माग धेरै हुने गरेको व्यवसायीको भनाइ छ। पाहुनालाई चिनियाँहरूले नेपाली हस्तकलाबाट बनेका सामग्री उपहार दिन्छन् ।

२०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात-निर्यात प्रभावित भएको थियो। भिमफेदी कारागारमा हाल १ हजार भन्दा बढी कैदीबन्दी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell