PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

रैथाने ज्ञान र सीपको महत्व झनै बढेको छ : मन्त्री किराती



पहिलोपोस्ट

रैथाने ज्ञान र सीपको महत्व झनै बढेको छ : मन्त्री किराती

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रैथाने ज्ञान र सीपको महत्व अहिलेको समयमा झनै बढेको बताएका छन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४ औं प्राज्ञ सभाको शनिबार उद्घाटन गर्दै किरातीले मान्छेबाट मान्छेमा सर्ने उक्त ज्ञानलाई संरक्षण गर्दै प्राज्ञिक क्षेत्रमा समेत अघि बढ्ने उद्देश्य राखेर नै सरकारले रैथाने विश्वविद्यालयको अवधारणा अघि ल्याएको बताए। 

‘समाजमा रहेको मूल्यमान्यताको संरक्षण गर्न रैथाने विश्वविद्यालयको कुरा गरेको हो,’ उनले भने। उनले मोतिराम भट्ट, लक्ष्मी प्रसाद देवकोटा, नेल्सन मण्डेलाको उदाहरण दिँदै एक बारको जीवनमा सबैले सम्झिने गरी काम गनुपर्ने कुरामा जोड दिए। किरातीले थपे, ‘सबैले राम्रो काम गरौं। हामी अजम्बरी छैनौं। मान्छे कामले बाँच्ने हो।’

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशिला सिर्पालीले प्रतिष्ठानले नीति निर्माण गर्दा २२ सालको भन्दा ८० सालको कुराले निर्धारण गर्न आवश्यक भएको धारणा राखिन्। सिर्पालीले सबैजना नयाँयुग सुहाउँदो र संविधानले मागेको कुरासँग जोडिनुपर्ने धारणा राखिन्।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले भाषा, साहित्य, संगीत, ललितकलाको क्षेत्रमा प्रदेशसँग जोडिएर बहुभाषिक संग्रहालय, अनुसन्धान, अभिलेख,जीवित संग्रहालयको विषयमा काम गर्न जरुरी भएको बताए। उनले यस विषयमा समाजलाई सही ढंगको सूचना सम्प्रेषण गर्न कक्षा सञ्चालन गर्न आवश्यक रहेको बताए। प्रतिष्ठानले ठोस रुपमा योगदान पुग्न सक्नेगरी काम गरिरहँदा अन्तबाट रकमान्तर गरेर पनि काम अघि बढाउन सकिने धारणा उनको छ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले अग्रज कलाकारले, बौद्धिक वर्गले, प्राज्ञ सभाले आफ्नो भूगोल, माटो सुहाउँदो आफ्नो हुटहुटी लिएर आएको बताउँदै प्राज्ञ सभा एउटा निश्कर्षमा पुग्ने धारणा राखे। 

समारोहमा मूर्तिकार नरेन्द्र प्रसाद भण्डारीद्वारा लिखित पुस्तक ‘समसामयिक नेपाली मूर्तिकला र मूर्तिकार’को समेत सार्वजनिक गरियो । पुस्तक सार्वजनिक भएपश्चात कार्यक्रममा बोल्दै भण्डारीले भने, ‘मेरो पुस्तकले अनुसन्धानको क्रममा धेरै मूर्तिकारहरुलाई समेटेको छ। तपाईहरुले सल्लाह, सुझावदिनुहोला। नेपालीकलाको विकासका लागि हामीलाई जुन जिम्मेवारी दिइएको छ। त्यसमा हामीले मूलतःनीतिनिर्माणमा हस्ताक्षर मात्र गर्ने छैनौं। नयाँ ढंगले सहयोग  पनि गर्नेछौं।’ 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले तीनवटै  एकेडेमी एउटै विधामा पर्ने धारणा राखे। ‘रंग हामीलाई चाहिन्छ। हामीले पनि बुझ्नुपर्छ। डान्स, नाटकमा प्रयोग हुन्छ। सेट गर्दा मिक्स हुन्छ। लाइटलाई प्रयोग गर्दा जरुरी हुन्छ,’ उनले भने। आफूलाई पनि आगामी दिनमा सल्लाह र सुझाव दिन आग्रह गर्दै उनले सबै एकेडेमी मिलेर काम गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।

वाग्मती प्रदेशका सांसद सरल सहयात्रीले यस सभाले आगामी दिनको लागि महत्वपूर्ण आधारशिला खडा गरोस् भन्ने कामना गरे। उनले अबका दिनमा प्रतिष्ठानले परम्परागत प्रतिष्ठान धान्ने रुपमामात्र काम गर्ने नभइ गहिराइमा पुगेर दीर्घकालिन रुपमा प्रभाव पार्ने गरी काम गर्नुपर्ने धारणा राखे।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले नेपालका रैथाने र परम्परागत कला तथा ज्ञानको संरक्षणमा ध्यान दिँदै त्यसलाई सुक्ष्म र बृहतदुवै तवरले खोज, अनुसन्धानमा समेत ध्यानदिनुपर्ने धारणा राखे।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाको क्षेत्रमा अहिले चुनौतिसँगै नयाँ अवसरसमेत रहेको बताए। उनले नीतिगत तथा संरचनागत तहमा प्रतिष्ठानले यस कार्यकालमा धेरै काम गर्न उद्देश्य राखेर अघि बढेको बताउँदै त्यसको नतिजा पनि केही समयपछि देखिने धारणा राखे। समारोहमा विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तित्वको महत्वपूर्ण सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell