PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

ओलीको दाबी : कालो झण्डा देखाउनेमा पूर्वराजा ज्ञानेन्द्रको संलग्नता देखिन्छ



पहिलोपोस्ट

ओलीको दाबी : कालो झण्डा देखाउनेमा पूर्वराजा ज्ञानेन्द्रको संलग्नता देखिन्छ

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाएको घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नता रहेको आरोप लगाएका छन्। अखिल नेपाल किसान महासंघको ७३ औ स्थापना दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले सत्तारुढ दल र दरबारियाको संलग्नता रहेको आरोप लगाएका हुन्। वैशाख १३ गते झापाको बुधवारेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा ओलीलाई कालो झण्डा देखाएको घटना सार्वजनिक भएको थियो। किरात प्रदेशको माग गरिरहेकाहरुले ओलीलाई कालो झण्डा देखाएका थिए। प्रदेश १ को नाम कोसी राखिएको भन्दै बिरोध भइरहेको छ। 

सोही दिन एमालेका प्रमुख सचेतक पदम गिरीले संसदबाट सरकारको ध्यानकर्षण गराएका थिए। उनले पनि सत्ता गठबन्धन दलकै कार्यकर्ताको संलग्नता रहेको भन्दै आपत्ति जनाएका थिए। एमालेले उक्त घटनालाई संवेदनशील रहेको भन्दै जोडतोड्ले उठाइरहेको छ। 'ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ। अनेकमार्फत देखिएको छ। पूर्व दरबारियाले पनि यस्तो गरेका छन्,' ओलीको आरोप छ। ओलीले नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताको पनि उक्त घटनामा संलग्नता रहेको बताएका छन्। 'अहिले सत्तामा हुने पार्टीका कार्यकर्ता अरुको नामममा त्यहाँ ढुंगा हान्न गएको छ। हाम्राविरुद्ध अश्लील र असभ्य त्यस्ता खालका गालीगलौज गर्ने काम भएको छ। यो मैले आफैले देखेर भनिरहेको छु,' ओलीको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell