काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आइतवार सम्पन्न अन्तिम खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र र सातदोबाटो गोलरहित बराबरीमा रोकिएका हुन्।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले राम्रा अवसरहरु बनाए पनि सदुपयोग गर्न सकेनन्। त्यस्तै आजै सम्पन्न अर्को अघिल्लो खेलमा मनाङ मर्स्याङदी क्लब चर्च ब्वाइज क्लबसँग ३-० गोल अन्तरले पराजित भयो।
अनन्त तामाङले ४१ औँ मिनेटमा गोल गर्दा पहिलो हाफमा चर्चले अग्रता बनाएको थियो। ५४ औँ मिनेटमा मौसम सुब्बाले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। त्यस्तै तेस्रो गोल इन्ज्युरी समयमा साइमन लिम्बूले गरे। त्यस्तै अर्को खेलमा जावलाखेल युथ क्लब र संकटा क्लब १-१ गोलको बराबरीमा रोकिए। फोडे फुफानाको गोलमा जावलाखेलले ३४ औँ मिनेटमा अग्रता बनाए पनि निशान खड्काले ७१ औँ मिनेटमा गोल फर्काउँदा खेल १-१ गोलको बराबरीमा रोकियो।
योसँगै १३ खेलबाट २४ अंक जोडेको जावलाखेल शीर्षस्थानमा कायम छ भने समान २२ अंक जोडेका थ्री स्टार र सातदोबाट दोस्रो र तेस्रो स्थानमा छन्। चौथो स्थानमा २१ अंक जोडेको चर्च ब्वाइज र पाँचौँ स्थानमा २० अंक जोडेको त्रिभुवन आर्मी क्लब छ। मनाङले भने जारी लिगमा लगातार छैटौँ हार ब्यहोरेको हो। १३ खेलबाट १५ अंक जोडेको मनाङ तालिकाको १० औँ स्थानमा छ।