‘बेजांग गाउँमा रोधी घर थियो
त्यही रोधी घर बिरानो भइदियौँ
ए दरौँ सिरुबारी माझकटेरी’
राजु परियारले गाए जस्तै बिरानो भएको छ रोधी घर आजभोलि। केवल रोधी घर मात्र होइन माझकटेरी गाउँपनि।
दक्षिण एयिसाकै पहिलो होमस्टे भनेर चिनिन्छ गीतमा उल्लेख भएको सिरुबारी। सिरुबारीको ठ्याक्कै अगाडि देखिने गाउँ चाहिँ दरौँ।
यी दुवैको बिचमा रहेको गाउँ माझकटेरी। जो पर्यटक तान्ने आर्कषण बोकेरपनि बिरानो छ सबैको लागि।
सिरुबारी पुग्नका लागि माझकटेरीको बाटो जानै पर्ने। तर, सिरुबारी पुग्ने पर्यटकले माझकटेरीलाई बिरानो मानिदिने।
यही बिरानोपन मेटाउन बनेको छ ‘म्हाँजु भञ्ज्याङ पार्क’। २५ लाख लागतमा बनेको पार्कको उद्देश्य हो गाउँ चिनाउने।
आँधिखोला गाउँपालिका-१ खर्कटी डाँडामा निर्मित पार्कले बिच बाटोमा हिँड्ने पर्यटकको मन तानिहाल्छ। पर्यटकको लागि गाउँ नपुग्दैको विश्रामस्थल बनेको छ पार्क।
पिङ, सेल्फी पोइन्ट र गर्मी बिर्साउने सिरसिर हावाले पर्यटक पनि आनन्दित हुन्छन्। जसमा पनि पार्कबाट देखिने हिमश्रृखंललाले पर्यटकको मन थप लोभ्याउँछ।
सिरुबारी पुगेर हिमाल देख्न नपाएको नैराश्यता पार्कमा आएपछि मेटिन्छ। पार्कबाट देखिने हिमश्रृखंला, पारि दरौँ गाउँ र सिरुबारी बिचमा माझकटेरी, पर्यटक रमाउँछन् यसैमा।
तरपनि गाउँ चर्चित छैन। आउने पर्यटक सिरुबारी नै पुग्छन्। सिरुबारीले लोभ्याएपनि हिमाल देख्न नपाएको खिन्नता बोकाएर पठाउँछ गाउँले। यता हिमश्रृखंलाको आनन्द लिने स्थान बाटोमै परेपनि पर्यटक अडिने ठाउँ यसअघि थिएन।
पार्कले पर्यटकलाई रोकिने ठाउँ दिएको छ। गाउँलाई पर्यटनको हब बनाउने सुरुवातको बाटो हो पार्क। जसको परिकल्पना गरेका हुन् नरकाजी गुरुङले। उनको कल्पनामा आँधिखोला गाउँपालिका र नेपाल पर्यटन बोर्डले साथ दिएपछि पार्क निर्माण सफल भएको हो।