- केके कर्माचार्य-
बाल्यकाल असाध्यै रमाइलो गरि बित्यो। निकै रमाइलो भएकोले होला थाहै नपाई बितेजस्तो लाग्यो। बिष्णुमतीमा पौडी खेल्ने। बाढी आयो भने पौडी खेल्न जाने, बगाए बगाओस् जे सुकै होस् भनेर। धान काटिसकेपछिको खेतमा खेल्न पाउँदा निकै मजा लाग्थ्यो।
सफा भुई वा भित्ता देख्नै नहुने!
मेरो बसाई डल्लुमा थियो। सानोमा सफा भुई वा खाली भित्ता देख्नसाथ कोर्न थालिहाल्थे। खरी ढुंगा, इँटाको टुक्रा वा गोलको टुक्रा भए भयो। भित्ता र भुईमा चित्र बनिहाल्थे। आमाबुवाको आर्थिक स्थिति राम्रो थिएन।
चाहेको कुरा किनेर नसक्ने। त्यतिबेला चित्र भनेपछि हेला हुन्थ्यो। चित्र बनाएपछि हेर्थे। रमाइलो मान्थे। बनाएको बेला चाहिँ के गरेको होला भन्थे मान्छेहरु। ‘पुं’ भन्थ्यौँ चित्रकारलाई। त्यस्तो काम पनि गर्ने भनेर मलाई गाली गर्थे।
गालीले मलाई छोएन। आफूलाई मनपर्ने काम कसरी छाड्ने? मन नपर्ने काम गर्नुपरेको भए मेरो बाल्यकाल नरमाइलो हुन्थ्यो होला।
पैसा कमाउने मेलो
पैसा कमाउनुपर्छ भन्ने बुवाको धारणा थियो। कमाएपछि सिद्धिहाल्ने। मलाई पनि पैसा कमाउनुपर्छ भन्ने लाग्थ्यो। गाली खाइखाई चित्र बनाउन थालेँ। प्रोत्साहन गर्ने मान्छेहरु पनि हुनुहुन्थ्यो।
शिवरात्रीको समयमा अनेक बनाएर बेच्न मधेशका मान्छेहरु आउँथे। म चटक देखाउनेहरुको पछि लाग्थे। कागजको अनेक सामान बनाउँथे उनीहरु। मैले हेरेर घरमा चटके बनाएँ। साथीहरु दंग पर्थे हेरेर।
साथीहरुले कसरी बनाए भनेर सोध्थे। म किन्छु लौ भनेर पाँच पैसा पनि दिए एकजनाले। चटके बेचेर आएको पैसा भनेर मैले आमालाई दिएँ। आमा अत्यन्त भावुक हुनुभयो। जिन्दगीमा मेरो पहिलो कमाई थियो।
त्यसपछि अर्को बनाएँ। २० पैसा, ५ पैसामा बेच्थे। बुवाले बनाउ यस्तो भन्नुभयो। मानिसहरु किन्न आउँथे, होलसेल पसल जस्तै भयो। आयआर्जन गर्ने स्रोतको विकास मैले यसरी आफैंले गरे। पछि आर्ट स्कुलमा भर्ना भएँ। आर्ट गरेर पनि कमाउन थालें।
खसीको काखीको रौं खोजेर ब्रस
त्यतिबेला ‘ब्रस’ किन्न पाइँदैनथ्यो। ‘कलर’ बनाउन पनि मुश्किल। भेडासिंतिर कलर पाइन्छ। त्यहाँ गएर किनेर ल्याएर पनि कलर गरेँ। ब्रस चाहियो। क्यानाभस चाहियो। ब्रस महँगो हुने। किन्न सक्ने अवस्था थिएन।
शिक्षकले मेरो ट्यालेन्ट मन पराउनुहुन्थ्यो। एउटा शिक्षकले के भन्नुभयो भने बाबु तिमी डल्लु बस्छौ। तल कसाइहरु बस्छन्। खसी काट्छन्। मेरो गुरु हो उहाँ। उहाँले ब्रस बनाउने तरिका सिकाउनुहुन्छ। तिमी बगरेकहाँ गएर रौं लिएर आउ। खसीको रौं खुइल्याएपछि लिएर आउ भन्नुभयो। मैले पनि गएर उठाएर ल्याउन थालें।
रौं जुन पायो त्यो नहुने रहेछ। ब्रस अहिले चाहेजस्तो पाइन्छ। त्यतिबेला काखीको रौं चाहिन्छ भन्नुहुन्थ्यो। अब मैले काखीको रौं कसरी पत्ता लगाउने? बगरेलाई भन्दा उनीहरु हाँस्ने। पानी परेपछि रौं चुच्चो हुनुपर्छ। अनि नरम पनि। काखीको रौंमा यस्तै गुण हुने रहेछ।
कसरी पत्ता लगाउने? रौं फालिएको ठाउँतिर जाने अनि टिप्ने। यसो हेर्ने मुखभित्र घुसारेर थुक लगाउँदै जाँच्ने। चुच्चो भए खल्तीमा हाल्ने। नभए फाल्ने। यसरी फोहोरबाट जम्मा गरेर सरलाई लगेर दिए। त्यही रौं बाँधेर उहाँले ब्रस बनाइदिनुभयो। विदेशी महँगो ब्रसभन्दा राम्रो हुनेरहेछ त्यो।
सानोमा डान्स गर्थेँ। स्वर पनि राम्रो थियो। गीत गाउँदा साह्रै मन पर्थ्यो। जति ठूलो स्वर गरेर गाउँदा पनि स्वर बिग्रँदैनथ्यो। हर्मोनियम, मुरली, बाँसुरी, भ्वाइलिन बजाउन सिकें। मूर्ति बनाउँछु। यो पनि मेरो रुचिको विषय हो। तर, धेरै क्षेत्रमा हात हाल्दा राम्रो हुँदैन भनेर म चित्र बनाउनतिरै लागें।
पृथ्वीनारायण शाहको औंला
हुलाक टिकट डिजाइन गर्दा पृथ्वीनारायण शाहको डिजाइन गर्ने कुरा भयो। इतिहासविद् बाबुराम आचार्यले लेखेको किताबमा पृथ्वीनारायणको सानो फोटो थियो। हुँदाहुँदा पोस्टर पनि आएको थियो। त्यो पनि ल्याएर मलाई दिए। फोटोमा पृथ्वीनारायण शाहले मुगल स्टाइलमा हातमा फूल समातेको थियो। यसैबाट डिजाइन सुरु गरेँ।
त्यसमा मलाई त्यतिबेला के फुर्यो भने नेपाल एकीकरण गरेको पृथ्वीनारायण शाहले हो। हातमा के फूल राख्नु भनेर हामी एक हो भनेर हातबाट फूल निकालेर औंला ठड्याइदिएँ। औंला त देखाउने तर अगाडिबाट देखाए खबरदार भन्ने अर्थ लाग्छ। त्यसैले मैले हत्केला मुखैतिर फर्काएर औंला ठड्याएको बनाएँ। त्यसमा विवाद नआउने पक्का भयो। सबैले मन पराए।
बाल चित्रमा रुचि
बाल साहित्यमा बालपोष भन्ने पत्रिका निस्कन्थ्यो। त्यो पत्रिकामा चित्रको आवश्यकता परेछ। शान्तदास मानन्धर, जनकप्रसाद हुमागाई र गोपालराज मैनाली मिलेर सुरु गरेको रहेछ। चौथो अंक निस्केपछि मलाई भेट्न आइपुगे तीनैजना। हास्यकलाकार गोपालराजसँग मेरो चिनाजान थियो।
गोपालराज नै आइपुगेर सहयोग चाहियो भनेर मैले गरें। पछि बन्द भयो। शान्तदास मानन्धरले पछि बाल कोसेली निकाल्नुभयो। मैले त्यहाँ निरन्तर काम गरें। त्यसरी नै बालसाहित्यमा चित्र कोर्न सुरु गरेको। धेरै त गरेको छैन ६० वटा जति किताबमा मैले आफ्नो कला पस्केको छु।
-वरिष्ठ चित्रकार एवं ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति कर्माचार्यद्वारा नयाँ बानेश्वरमा रहेको प्राज्ञ कुञ्जका विद्यार्थीहरुसँग प्रस्तुत अनुभव।