PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा, लिभरपुलले टोटेनहमलाई हरायो



पहिलोपोस्ट

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा, लिभरपुलले टोटेनहमलाई हरायो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलहमलाई हराएको छ। कार्भेन कटेज स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोलीलाई २-१ गोलअन्तरले हराएको हो।

खेलको तेस्रो मिनेटमै अर्लिङ हल्याण्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। सिटीका जुलियन अल्भारेजलाई फुलहमका टिम रिमले फउल गरेपछि पाएको पेनाल्टीको अवसर हल्याण्डले गोलमा परिणत गरेका हुन्। योसँगै हल्याण्डले यो सिजन सबै प्रतियोगितामा गरी ५० गोल पुरा गरेका छन्।

खेलको १५ औँ मिनेटमा घरेलु टोलीका लागि कार्लोस भिनिसियसले गोल गर्दै खेल बराबरीमा ल्याए। सिटीको जितका लागि निर्णायक गोल ३६ औँ मिनेटमा जुलियन अल्भारेजले रियाद महरेजको पासमा गरे।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा लिभरपुलले टोटेनहममाथि ५-३ गोलको जित निकाल्यो। खेलको तेस्रो मिनेटमा कर्टिस जोन्सले र पाँचौँ मिनेटमा लुइस डियाजले गोल गर्दा तेस्रो गोल मोम्मदल सलाहले १५ औँ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरे। १५ मिनेट भित्रै ३ गोल ब्यहोर्न पुगेको टोटेनहमका लागि ३९ औँ मिनेटमा पेरिसिचको पासमा ह्यारि केनले गोल फर्काए।

पहिलो हाफमा ३-१ ले पछि परेको टोटेनहमका लागि दोस्रो गोल सन ह्युङ मिनले ७७ औँ मिनेटमा रोमेरोको पासमा गरे। त्यस्तै सनको एसिस्टमा इन्ज्युरी समयमा रिचार्लिसनले गोल थप्दा खेल बराबरीमा ल्याउन टोटेनहम सफल भएको थियो। तर, एक मिनेट नबित्दै लिभरपुलका डिएगो जोटाले गोल थप्दा घरेलु टोलीले एनफिल्डमा जित निकाल्न सफल भयो।

गएरातिको खेलसँगै म्यानचेस्टर सिटी ३२ खेलबाट ७६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा ३३ खेलबाट ७५ अंक जोडेको आर्सनल छ। त्यस्तै लिभरपुल ३३ खेलबाट ५६ अंक जोडेर पाँचौँ स्थानमा उक्लिँदा ३४ खेलबाट ५४ अंक जोडेको टोटेनहम छैटौँ स्थानमा झरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell