काठमाडौँ: एसीसी प्रिमियर कपको फाइनल खेलमा सोमवार नेपाल र यूएई भिड्दै छन्। कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ। फाइनल जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा स्थान बनाउने छ।
नेपाल र यूएई चिर प्रतिद्वन्दी हुन्। हेडटूहेडमा पछिल्ला पाँच खेललाई हेर्दा भने यूएई भन्दा नेपाल बलियो देखिन्छ। पछिल्ला पाँच खेलमा नेपालले ४ जित निकाल्दा यूएई १ खेलमा विजयी भएको छ।
जारी प्रतियोगितमा नेपाल समूह 'ए' मा अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको थियो भने समूह चरणमा एक हारको बावजुत यूएई समूह 'बी'को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
सेमिफाइनलमा नेपाल र कुवेतबीच खेल वर्षाका कारण रद्ध हुँदा समूह विजेता रहेको आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो। अर्कोतर्फ यूएईले समूह 'ए'को उपविजेता ओमनलाई हराएर फाइनल यात्रा तय गरेको हो।
वर्षाको डर
सेमिफाइनल खेलयता काठमाडौँमा निरन्तर वर्षा चलिरहेको छ। सेमिफाइनलकै खेल पनि एउटा रद्ध हुँदा अर्को डीएल मेथडमा गएको थियो। त्यस्तै आइतवार सम्पन्न तेस्रो स्थानको खेल पनि रद्ध हुन पुग्दा वरीयताका आधारमा ओमनले तेस्रो स्थान सुरक्षित गर्दै एसिया इमर्जिङ टिम्स कपमा स्थान बनायो।
सोमवार पनि काठमाडौमा वर्षाको सम्भावना छ। बिहानबाटै कुइरोले ढाकिएको अवस्थामा जतिबेलै पनि वर्षा सुरु हुनसक्ने देखिन्छ।
मौसमपूर्वानुमान शाखाले पनि आज वर्षाको सम्भावना देखाएको छ।
'देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशै भरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।' शाखाको सोमवारको पूर्वानुमानमा भनिएको छ।
फाइनल खेलमा पानी परेको खण्डमा सुपर ओभरमा जाने र सुपर ओभरमा पनि खेल हुन नसके मंगलवार रिजर्भ डे रहेको छ। मंगलवार पनि खेल हुन नसके नेपाल वरीयताका आधारमा विजेता बन्नेछ।