PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

पानी छिट्याउँदै खेल सुरु, सोमपाल र करणले लिए सुरुवाती दुई विकेट



पहिलोपोस्ट

पानी छिट्याउँदै खेल सुरु, सोमपाल र करणले लिए सुरुवाती दुई विकेट

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले पहिलो विकेटका रुपमा कप्तान मोहम्मद वसीम र दोस्रो विकेटका रुपमा बिस्फोटक ब्याटस्मान बृत्य अरबिन्दलाई गुमाएको छ।

३.१ ओभरमा ११ रन बनाएर खेलिरहेका वसीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच आउट गराए। त्यस्तै ४.५ ओभरमा करण केसीले अरबिन्दको विकेट लिएका हुन्।

क्रिजमा हाल बृत्य रमिज सहजाद र आर्यन लाक्रा छन्।

यद्यपि, मौसम भने खेलका लागि अनुकुल छैन। हल्का पानी छिट्याइरहेको अवस्थामा जति नै बेला पनि खेल रोकिन सक्ने सम्भावना छ।

आजको फाइनल जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा स्थान बनाउने छ।

नेपाल र यूएई चिर प्रतिद्वन्दी हुन्। हेड-टू-हेडमा पछिल्ला पाँच खेललाई हेर्दा भने यूएई भन्दा नेपाल बलियो देखिन्छ। पछिल्ला पाँच खेलमा नेपालले ४ जित निकाल्दा यूएई १ खेलमा विजयी भएको छ।

जारी प्रतियोगितमा नेपाल समूह 'ए' मा अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको थियो भने समूह चरणमा एक हारको बावजुत यूएई समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो।

सेमिफाइनलमा नेपाल र कुवेतबिच खेल वर्षाका कारण रद्ध हुँदा समूह विजेता रहेको आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो। अर्कोतर्फ यूएईले समूह ‘ए’को उपविजेता ओमनलाई हराएर फाइनल यात्रा तय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell