काठमाडौं : कीर्तिपुरमा जारी नेपाल र यूएईबिचको खेल वर्षाका कारण रोकिएको छ। एसीसी प्रिमियर कप अन्तर्गत आज भइरहेको फाइनल खेलमा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको थियो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपाली बलरहरुले राम्रो प्रदर्शन गरे।
वर्षाले खेल रोक्नु अघि यूएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएको छ।
यूएईले पहिलो विकेटका रुपमा कप्तान मोहम्मद वसीम र दोस्रो विकेटका रुपमा बिस्फोटक ब्याटर बृत्य अरबिन्दलाई गुमायो। ३.१ ओभरमा ११ रन बनाएर खेलिरहेका वसीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच आउट गराए। त्यस्तै ४.५ ओभरमा करण केसीले अरबिन्दको विकेट लिएका हुन्।
यूएईका आर्यन लाक्रा, रमीज शहजाद र रोहन मुस्ताफा पनि पेबिलियन फर्किसकेका छन्। ८.१ ओभरमा करन केसीको बलमा लाक्रा क्याच आउट भएका हुन्। उनले १३ रन बनाए।
त्यस्तै, लगत्तै अर्को ओभरमा शहजाद ललित राजबंशीको बलमा गुलसन झाको हातबाट क्याच आउट भए। उनले मात्रै १ रन बनाउन भ्याएका थिए।
यूएईले पाँचौँ विकेट भने मुस्ताफाको रुपमा गुमायो। २ रन बनाउँदा उनी १३.१ ओभरमा सन्दीप लामिछानेको बलमा क्याच आउट भए।
आजको फाइनल जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा स्थान बनाउने छ।
नेपाल र यूएई चिर प्रतिद्वन्दी हुन्। हेड-टू-हेडमा पछिल्ला पाँच खेललाई हेर्दा भने यूएई भन्दा नेपाल बलियो देखिन्छ। पछिल्ला पाँच खेलमा नेपालले ४ जित निकाल्दा यूएई १ खेलमा विजयी भएको छ।
जारी प्रतियोगितमा नेपाल समूह 'ए' मा अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको थियो भने समूह चरणमा एक हारको बावजुत यूएई समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
सेमिफाइनलमा नेपाल र कुवेतबिच खेल वर्षाका कारण रद्ध हुँदा समूह विजेता रहेको आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो। अर्कोतर्फ यूएईले समूह ‘ए’को उपविजेता ओमनलाई हराएर फाइनल यात्रा तय गरेको हो।