काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा फेरि वर्षा बाधक बनेको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले राम्रो सुरुवात गरे पनि वर्षा सुरु हुँदा खेल प्रभावित बनेको थियो। बिचमा फेरि खेल चले पनि २७.३ ओभरमा वर्षा सुरु भयो। वर्षा हुँदा स्कोरबोर्डमा यूएईको ९ विकेट गुमाएर १०६ रन छ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले १७ औँ ओभरमा ५ विकेट गुमाएर ६० बनाएर खेलिरहँदा पहिलो पटक वर्षा सुरु भएको थियो। तर, केही बेरमै खेल सुरु भएको थियो।
पहिलो विकेटका रुपमा यूएईले कप्तान मोहम्मद वसीमलाई गुमाएको थियो। ३.१ ओभरमा ११ रन बनाएर खेलिरहेका वसीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच आउट गराए। ७.५ ओभरमा ललित राजवंशीको बलमा आर्यन लाक्राको बल बाउन्ड्री लाइनमा भीम सार्कीले ड्रप गरे। लगत्तै ८.१ ओभरमा करण केसीको बलमा लाक्रा आरिफ शेखबाट क्याचआउट भए।
त्यस्तै ९.१ ओभरमा यूएईले चौथो विकेट गुमायो। ललितनारायण राजवंशीको बलमा १ रन बनाएर खेलिरहेका रमीज शहजाद गुलसन झाको हातबाट क्याचआउट हुन पुगे।
पाँचौँ विकेट यूएईको प्रभावशाली अलराउण्डर रोहन मुस्तफाको गयो। १३.१ ओभरमा २ रन बनाए खेलिरहेका उनलाई सन्दीप लामिछानेको बलमा कुशल मल्लले क्याच आउट गरे।
सुरुबाटै दबाब बनाएको नेपालका लागि छैटौ विकेट गुलसन झाले लिए। उनले २२.५ ओभरमा बसील हमीदलाई बोल्ड आउट गरे। त्यस्तै सातौँ विकेट आयन अफ्जल खानको रह्यो। खान २५.४ ओभरमा सन्दीप लामिछानेको बलमा कुशल मल्लबाट क्याचआउट भए।
यूएईको स्कोर उकास्न ४६ रनको महत्वपूर्ण योगदान दिएका आशिफ खानको महत्वपूर्ण विकेट ललितनारायण राजवंशीले लिए। आशिफ २७.२ ओभरमा राजवंशको बलमा आरिफ शेखले क्याचआउट गरे। लगत्तै अर्को बलमा राजवंशीले नवौँ विकेट पिन लिए। २७.३ ओभरमा जुनैद सिद्दिकी राजवंशीको बलमा आरिफकै क्याचमा आउट भए।
यूएईका लागि आशिफले सर्वाधिक ४६ रन बनाउँदा आर्यन लाक्राले १३, मोहम्मद वसीमले ११, तथा बसील हमीदले १० रन बनाए।
बलिङतर्फ नेपालका ललितनारायण राजवंशीले सर्वाधिक ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २ तथा सोमपाल कामी र गुलसन झाले समान १ विकेट लिए।