काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक सरकारमा सहभागी हुने या नहुने भन्नेबारे अनिर्णित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई सरकारमा सहभागी गराउन गृहकार्य गरिरहेका बेलामा रास्वपाले निर्णय लिन नसकेको हो।
वैशाख १० मा सम्पन्न उप निर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने र अर्थविद डा स्वर्णिम वाग्ले चितवन-२ तथा तनहुँ-१ बाट निर्वाचित भएका थिए। मंसिर ४ मा चितवन-२ मै चुनाव जितेका लामिछानेको सांसद पद नागरिकता विवादमा अदलतले गरेको फैसलाका कारण गुमेको थियो।
उपनिर्वाचन यता सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने तथा सरकारमा सहभागी हुने/नहुनेबारे रास्वपा पर्ख र हेरको स्थितिमा पुगेको हो। रास्वपा सरकारबाट भने माघ २२ मै फिर्ता भएको थियो। तर, सरकारलाई दिएको समर्थन भने रास्वपाले अहिलेसम्म कायमै राखेको छ।
सोमवारको केन्द्रीय समिति बैठकले आगामी शुक्रवार मात्रै सरकारबारे निर्णय गर्नेगरी सकिएको केन्द्रीय सदस्य गणेश पराजुलीले जानकारी दिए।
'सरकारका बारेमा शुक्रवार मात्रै निर्णय गर्ने भनेर केन्द्रीय कमिटीको बैठक सकिएको छ। आजै संसदीय दलको बैठक बस्छ,' उनले भने।
संसदीय दलको बैठकले आज रास्वपाको संसदीय दलको नेता चयन गर्ने कार्यसूची छ। संसदीय दलको नेतामा सभापति लामिछाने चयन हुनेछन्।