काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा डा. सुरेश आचार्य नियुक्त भएका छन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले डा आचार्यलाई सोमवार उक्त पदमा नियुक्त गरेको कांग्रेसले जनायो। 'नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा सिन्धुलीका डा. सुरेश आचार्यलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नु भएको छ,' कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सिन्धुलीका डा. आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन्। लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका आचार्य पछिल्लो समय कांग्रेसका विभिन्न समितिहरुमा रहेर सक्रिय रहेका थिए।
'पार्टीलाई रिभाइभ गर्ने अभियानमा लाग्छौं'
प्रशिक्षणमा जोड दिने नीति रहे पनि १४ औं महाधिवेशन कांग्रेसको यो प्रतिष्ठान सक्रिय हुन सकेको छैन। यही बेला यस प्रतिष्ठानले नयाँ कार्यकारी निर्देशक पाएको हो। यसअघि उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा पुरुषोत्तम दाहाल थिए।
प्रशिक्षण थलिएसँगै थला परेर कांग्रेस कमजोर बन्दै गएको अवस्थामा अब अघि बढ्ने योजना के छन् त? 'पहिलेको निर्देशकले पनि योगदान गर्नुभएको थियो। तर महाधिवेशन भएपछि अहिले बनिराख्य थिएन। अध्यक्षमात्र हुनुहुन्थ्यो। यसका तीनवटा निर्देशक हुन्छन्। विस्तारै निर्देशकहरु पनि नियुक्त हुनुहुन्छ। त्यसपछि देशव्यापी रुपमा पार्टीलाई रिभाइभ गर्ने अभियान प्रारम्भ गर्छौं हामी,' प्रतिष्ठानका नवनियुक्त कार्यकारी निर्देशक डा आचार्यले भने।
नयाँ कार्यसमितिले निर्देशिका रिभ्यू गर्ने र लगत्तै अभियान थाल्ने उनले बताए। 'कार्यसमितिलाई पूर्णता दिन हामी जतिसक्दो छिटो लाग्छौं। पार्टी उपसभापति यसको अध्यक्ष हुनुहुन्छ। उहाँसँग सामान्य कुराकानी भएको छ,' डा आचार्यले भने, 'विस्तृत कुराकानी भएपछि अर्को सातादेखि अफिस जोइन गर्छु। समितिमा साथीहरुसँग छलफल गरेर पुरानो निर्देशिकालाई रिभ्यु गर्छौ र त्यसपछि अभियान शुरु गर्छौं।'