PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

फरार सांसद कोइरीबारे प्रहरीले दियो संसदलाई जानकारी, अब निलम्बनको प्रक्रिया अघि बढ्ने



पहिलोपोस्ट

फरार सांसद कोइरीबारे प्रहरीले दियो संसदलाई जानकारी, अब निलम्बनको प्रक्रिया अघि बढ्ने

काठमाडौं : प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीबारे प्रहरी प्रधान कार्यालयले संघीय संसद सचिवालयलाई जानकारी गराएको छ।

आइतवार नै संसद सचिवालयलाई प्रहरीले कोइरी फरार सूचीमा रहेकोबारे जानकारी गराएको हो। शुक्रवारको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले कोइरी बिरामी भएको भन्दै बिदाको प्रस्ताव गरेका थिए। तर, सत्तारुढ दलका सांसदले आपत्ति जनाएपछि उनी फरार सूचीमा रहेकोबारे नयाँ नियमावली बनेपछि जानकारी नआएको घिमिरेले बताएका थिए।

यसअघि पुस ७ गते पनि कोइरीको बारेमा प्रहरीले संसदलाई पत्राचार गरेको थियो। शपथ नै रोक्नुपर्ने भन्दै प्रहरीले संसदलाई पत्र लेखेको भए पनि त्यतिबेला उनलाई शपथमा रोकटोक भएन। शुक्रवारको संसदको घटनापछि कोइरीबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जानकारी गराइएको थियो।

मन्त्री श्रेष्ठले कोइरीबारे प्रहरीले आइतवार तत्काल नै संसदलाई जानकारी गराउने प्रतिवद्धता जनाएका थिए। 

प्रहरीले कोइरी फरार रहेको जानकारी गराएपछि अब निलम्बनको प्रक्रिया सुरु हुने संसद सचिवालयले जनाएको छ। 

२०७२ भदौमा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या अभियोग लागेका कोइरी फरार रहेकै अवस्थामा निर्वाचनमा सहभागी भएर विजयी भएका थिए। 

विकको हत्या अभियोगमा सुरुमा जिल्ला अदालतले कोइरीलाई एक लाख रुपैयाँ धरौटीमा रिहाको आदेश गरेको थियो। उच्च अदालत जनकपुरले भने २०७७ मा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दियो। अदालतको आदेश कार्यान्वयन नभइ कोइरी अहिले फरार छन्। 

फरार अवस्थामा रहेका उनले संसदलाई २०७९ माघ २५ गतेदेखि बिरामी परेकाले बिदा स्वीकृतका लागि निवेदन पठाएका थिए। कोइरीले अधिवेशनमै दुईवटा निवेदन पठाएका थिए। 

शुक्रवार अधिवेशन अन्त्यका क्रममा उक्त बिदाको जानकारी स्वीकृतका लागि पेस भएसँगै विवाद भएको थियो। नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तावको विरोध गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell