काठमाडौं : अमेरिकी नागरिक रहँदा पनि नेपाली पासपोर्ट प्रयोग गरेको भन्दै आफ्नोविरुद्ध परेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो बयान पेश गरेका छन्। उपनिर्वाचनमा उम्मेदवारको मनोनयनकै दिन लामिछानेविरुद्ध राहदानी दुरुपयोग आरोपमा युवराज पौडेल(सफल)ले उजुरी दिएका थिए।
उक्त उजुरीपछि सर्वोच्च अदालतमा लामिछानेले आफ्नोतर्फबाट बयान पेश गरेका हुन्। लामिछानेले उक्त रिटमा गरिएको दाबी झुटो भएकोसमेत तर्क गर्दै खारेजीको मागसमेत गरेका छन्। 'उपनिर्वाचनको सम्मुखमा आएर म तथा हाम्रो पर्टीका विरुद्धमा राजनैतिक प्रचारवाजी गर्ने गराउने दुषित मनसायले संवैधानिक तथा कानुनी आधार वेगरको झुट्टो ब्यहोरा लेखी मेरा विरुद्धमा सम्मानित अदालतमा रिट निवेदन लिई प्रवेश गर्नुभएकोले विपक्षीको रिट निवेदन खारेज भागी छ,'
लामिछानले आफूले अमेरिकी नागरिक रहँदा नेपाली राहदानी प्रयोग नगरेको दाबी पेश गरेका छन्। आफूले उक्त राहदानी २०७२ पुस १५ गते नै राहदानी विभागमा फिर्ता गरेको र नियमअनुसार उक्त समयमा रद्द भएकोसमेत लामिछानेको भनाई छ। 'विदेशी नागरिक रहेको समयमा उल्लेखित नेपाली राहदानी लिएको भएता पनि सोको प्रयोग गरी विदेशको यात्रा नगरेको, राहदानी सम्बन्धी कसुर अपराध गर्ने मनसाय र उद्देश्य लिई कुनै कार्य नगरेको र प्रयोग समेत नगरेको तथा सम्मानित अदालतको आदेशबाट मेरो साबिकको नेपाली नागरिकता कायम नभएपछि राहदानी समेत स्वतः कायम नहुने भएकोले मैले मिति २०७२।१०।१५ मा राहदानी विभागमा उक्त राहदानी फिर्ता गरेको र राहदानी विभागका महानिर्देशकज्यूले राहदानी ऐन २०७६ को दफा २६ (२) बमोजिम मिति २०७२/१०/१९ मा उक्त राहदानी रद्ध भई कायम नरहेको,' लामिछानेको बयानमा उल्लेख छ।
आफ्नो राहदानीमा पीडित पक्ष कोही नरहेको अवस्थामा पनि यो निवेदकको दाबी नपुग्ने रविको भनाई छ। लामिछनेले महान्यायधिवक्ताले आफूलाई मुद्दा नचल्ने भनी गरेको निर्णय नै उपयुक्त रहेको उल्लेख गर्दै युवराजले दर्ता गरेको रिट खारेज गर्न माग गरेका छन्। 'प्रस्तुत राहदानी प्रकरणको बिषयमा कुनै पनि पीडित पक्ष नभएको र अन्यायमा पर्न जाने पक्ष नरहेको, सरकारी र सार्वजनिक सम्पत्ति हिनामिना र दुरुपयोग हुन सक्ने तथ्यगत अवस्था नरहेको, साविक राहदानी ऐन र हालको राहदानी ऐन २०७६ मा परिभाषित कसुर नगरेको र जुन राहदानीको बारेमा मुद्दा चलाउनु पर्ने हो सो राहदानी नै अख्तियार प्राप्त निकायबाट रद्ध भई शुन्यमा पुगी सकेको अवस्था हुँदा महान्याधिवक्ताले आफ्नो संवैधानिक अधिकारको प्रयोग गरी मेरा विरुद्धमा मुद्दा नचल्ने भनी गरेको निर्णय न्याय र इन्साफका दृष्टिबाट अन्यथा हो भनी प्रश्न गर्न सक्ने स्थिति नहुँदा मुद्दा नचल्ने भनी भएको निर्णय उपयुक्त नै रहेको देखिन्छ,' बयानमा लामिछानेले भनेका छन्, 'तसर्थ प्रस्तुत सन्दर्भमा विवादमा ल्याइएको मेरो राहदानीको मुद्दा र निवेदकले रिट निवेदनमा उल्लेख गरेको नजीरवाला मुद्धाको विषयवस्तु नै फरक अवस्था र परिस्थितीको रहेको हुँदा उक्त नजीर प्रस्तुत रिट निवेदनको सन्दर्भमा आकर्षित हुन सक्दैन। अतः उक्त नजीरका आधारमा रिट जारी हुनुपर्छ भन्ने निवेदन दावी ग्राह्य हुन नसक्ने भएकोले रिट निवदेन खारेजभागी छ खारेज गरि पाउँ।'