
चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्टको अष्ट्रेलिया टुर सम्पन्न भएको छ। १० अप्रिलमा मेल्बर्नबाट सुरु भएको अष्ट्रेलियाको सांगीतिक यात्रा आइतबार एडलेडमा पुगेर टुंगिएको हो।
ब्यान्डले ब्रिस्बेन, सिड्नी, केन्बेरा, डार्विन, पर्थ, होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर आफ्नो अन्तिम प्रस्तुति दिएको हो।
१० वर्षपछि मंगोलियन हार्ट अष्ट्रेलियाको टुरमा निस्किएको हो। त्यसकारण 'कन्सर्ट' भएका हरेक शहरमा मंगोलियन हार्टलाई हेर्न र सुन्न दर्शकको ठूलो ‘क्राउड’ जम्मा भएको 'ब्यान्ड'का मेनेजर एवम् गितारिस्ट बबी लामाले जानकारी दिए।
हरेक शहरमा भएको कन्सर्टमा ब्यान्डका फ्रन्टम्यान राजु लामाले चर्चित गीत ‘मेरो नेपाल’बाट आफ्नो प्रस्तुति सुरु गरे। साथै कन्सर्टमा ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ लगायत गीतहरु गाएर दर्शक झुमाएका थिए।
अन्तिम प्रस्तुतिमा लामाले ‘सायद तिम्रो बाटोमा’ गीत गाउँदै म्यूजिकल टुर टुंग्याए। यात्रा टुंग्याउँदै गर्दा दर्शकबाट सबैले हात उठाएका थिए, अनि लामाले मुस्कुराउँदै स्टेजबाटै दर्शकसँग सेल्फी खिचेका थिए।
३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यही ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा। लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।