PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

६ वटा मन्त्रालय नपाए वाग्मती सरकार छाड्ने कांग्रेसको चेतावनी, मुख्यमन्त्री काठमाडौंमा!



निशा गुरुङ

६ वटा मन्त्रालय नपाए वाग्मती सरकार छाड्ने कांग्रेसको चेतावनी, मुख्यमन्त्री काठमाडौंमा!

हेटौंडा : वाग्मती प्रदेशमा नेपाली कांग्रेसले ६ वटा मन्त्रालयको अडान नछाडेपछि सरकारले तत्काल पूर्णता पाउने छाँट देखिएको छैन। सांसद संख्या देखाउँदै कांग्रेसले ६ मन्त्रालयमा अड्डी कसेको हो। यतिमात्र हैन भनेको जति मन्त्रालय नपाए कांग्रेसले सरकार छाड्ने चेतावनीसमेत दिएको छ।

तीन महिनाअघि राप्रपा सरकारबाट बाहिरिएदेखि नै मन्त्रिपरिषद् अपूर्ण छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेल मातहत अहिले पाँच मन्त्रालय छन्। सत्ता समीकरणमा फेरबदल आएसँगै वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिएको ३७ दिन कटेको छ। निर्वाचनकै बेलाको गठबन्धन ब्युँतिएपछि १० चैतमा विश्वासको मत लिएर सरकारमै टिकिराखेका जम्कट्टेलले एक महिना बढी भइसक्दा पनि सरकारलाई पूर्णता दिन नसकेको हो। सरकारलाई पूर्णता दिन नसकेसँगै उनको आलोचना बढेको छ।

'मुख्यमन्त्रीले सहमति कार्यन्वयन गरेनन्'

मन्त्रिपरिषद्ले पूर्णता नपाउनुमा कांग्रेसलाई दोष लगाउँछन् मुख्यमन्त्री जम्कट्टेल। तर कांग्रेस मुख्यमन्त्री जम्कट्टेल नै दोषी देख्छन्। वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आरोप छ – सहमतिबाट कार्यन्वयन नगर्ने मुख्यमन्त्री नै हुन्। प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेस भएकोले ६ वटा मन्त्रालय पाउनुपर्ने दाबी गरे। कांग्रेसले ६ वटा मन्त्रालय पाउने टुंगो नलागेसम्म बाँकी मन्त्रीको नाम नपठाउने शर्त दोहोर्‍याए। ‘माओवादीले सांसद संख्या २१ बराबर मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाएका छन्। कांग्रेसले ३७ सिट संख्याका आधारमा ६ वटा मन्त्रालय पाउनुपर्छ हो,’ अर्थमन्त्री लामाले भने, ‘एकीकृत समाजवादीको जम्मा ७ सिट छ। त्यही सिटको आधारमा १ मन्त्रालय पाउनुपर्छ।’

नेकपा एस सहमतिमा आउने न आउने कुरा मुख्यमन्त्रीले नै मिलाएर लानुपर्ने लामाको धारणा छ। लामाले ६ वटा मन्त्रालय नपाए सरकारबाटै बाहिरिने चेतावानीसमेत दिए। लामाले माओवादीले सिट संख्याका आधारमा ठूलो मन्त्रालय लिएरसमेत चार मन्त्रालय लिँदा ठूलो दल कांग्रेसलाई भने सम्मानजनक हैसियत दिन नखोज्दा यो परिस्थिति सिर्जना भएको आरोप लगाए। उनले भागबण्डा मिलाउन मुख्यमन्त्रीलाई काठमाडौं डाकेको बताए।

यता, सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानाराण श्रेष्ठले भने ७ मन्त्रालयमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने कुरा भएको बताए। मन्त्री श्रेष्ठले बजेट बनाउने बेला भएको हुँदा अडानभन्दा पनि सहमति गरेर सरकारमा आउन आग्रह गरेको जानकारी दिए। उनले सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा राखेको जानकारी दिए।

कांग्रेस बहादुरसहित तीर्थ लामालाई लिएर सरकारमा सहभागी भएको छ। पार्टीभित्र आकांक्षीहरुको व्यवस्थापन गर्न नसकेपछि वाग्मती कांग्रेसका संसदीय दलका नेतासमेत रहेका लामा २६ चैतमा सरकारमा गएका हुन्। उनले तीर्थ लामालाई खानेपानी, ऊर्जा र सिँचाइमन्त्री जिम्मेवारी दिएका छन्। ६ वटा मन्त्रालयमा गठबन्धनमा सहमति पनि हुन नसक्नु र पार्टीभित्रकै विवाद मिलाउन नसक्दा लामालाई चुनौती थपिएको छ।

मुख्यमन्त्री जम्कट्टेल कांग्रेसलाई कुर्दै बसेका छन्। गठबन्धनको ठूलो दल कांग्रेसले ६ वटा मन्त्रालयमा अडान राख्दै आएको छ। कांग्रेसको अडानमा मुख्यमन्त्री सकारात्मक नभएपछि भागबण्डा पनि टुंगि नसकेको छैन। भागबण्डा नटुगिँदा गठबन्धनकै एकीकृत समाजवादी पनि सरकारमा गएको छैन। ११ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना मन्त्री छन्। जसमध्ये मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय माओवादीका र दुई मन्त्रालय नेपाली कांग्रेसले सम्हाल्दै आइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell