PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कांग्रेसले अब कुनै दलसँग तालमेल नगर्ने गगनको दाबी : राष्ट्रपतिले उपचार खर्च आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ



पहिलोपोस्ट

कांग्रेसले अब कुनै दलसँग तालमेल नगर्ने गगनको दाबी : राष्ट्रपतिले उपचार खर्च आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको निर्वाचनमा कुनै दलसँग गठबन्धन गर्न नहुने बताएका छन्। महामन्त्री थापाले यसअघि अर्को चुनाव चिह्नमा मत हाल्न लगाएर गल्ती गरेको उल्लेख गर्दै अब यस्तो तालमेल नहुने बताएका हुन्।

'नेपाली कांग्रेसले जीवनमा कहिले पनि वडा देखिमाथि बरु हारे हारिन्छ। २० वर्ष हारे पानि हरिन्छ। तर कुनै पनि दलसँग नेपाल सबै दल मिलेर एउटै भए पनि नेपाली कांग्रेसले चुनावमा कुनै पनि दलसँग तालमेल गर्ने छैन,' सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन  गर्दै भने।

चाँडै नीति अधिवेशन राखेर कांग्रेसले यस विषयमा मन्थन गर्नेसमेत उनले बताए। वैशाखको अन्तिममा बस्ने केन्द्रीय समितिमा नीति अधिवेशनको माग राखिने उनको भनाई थियो।

कांग्रेसमा चार पुस्ताका व्यक्ति एकै ठाउँमा रहेको उल्लेख गर्दै थापाले नयाँ पार्टीलाई खासै अप्ठेरो नपर्ने बताए। ‘एकैपटक चार पुस्ताका व्यक्तिहरु पार्टीमा छौं । नयाँ पार्टीलाई कुनै समस्या छैन’, थापाले भने। यद्यपि आउन चाहने नयाँलाई ठाउँ दिनुपर्ने उनको भनाई थियो।

राष्ट्रपतिले उपचार खर्च आफ्नै खल्तीबाट हाल्नुपर्छ

महामन्त्री थापाले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च राज्यबाट खर्चिन नहुने बताए। राष्ट्रपति पौडेले फोक्सोमा समस्या देखेपछि भारतको एम्स अस्पतालमा उपचार गरी सोमवार राति स्वदेश फर्केका छन्। गगनले उपचार खर्च राष्ट्रपतिकै खल्तीबाट हाल्न आग्रह गरे। ‘म सम्माननीय राष्ट्रपतिलाई यहीँबाट अनुरोध गर्न चाहन्छु, सिंगो नेपाली नागरिकको तर्फबाट अनुरोध गर्न चाहन्छु,' थापाले भने, 'बाहिर गर्ने यहाँका चिकित्सकहरूले भनिसकेपछि त्यो चिकित्सकीय कुरा हो। परिवारले गर्ने निर्णयको कुरा हो। तर त्यो उपचारको खर्च, मेरो उपचारको खर्च मैले मेरो खल्तीबाट। यो गणतन्त्र हो त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ।'

राष्ट्रपतिले यस्तो कदम चालेमा जनतामाझ सम्मान बढ्नेसमेत गगनको भनाई थियो। 'म व्यहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त। त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्‍याउँछ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्‍याउँछ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell