PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

मण्डलामा कथक : नृत्य नाटकमार्फत ‘जून’को संघर्षरत जीवन

मण्डलामा कथक : नृत्य नाटकमार्फत ‘जून’को संघर्षरत जीवन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: गत शुक्रवारदेखि थापागाउँस्थित मण्डला थिएटरमा नृत्यनाटिका ‘जून’ मञ्चन भइरहेको छ। नम्रता केसीको परिकल्पना र निर्देशन नाटकमा संयोग गुरागाईंको लेखन रहेको छ।

सानैमा आमा गुमाएकी ‘जून’पात्रमा यो कथा केन्द्रीत छ। जून सौतेनी आमा र दुई दिदीबहिनीसँग बस्छिन्। जहाँ उनले व्यक्तिगत चाहनासँग सम्झौता गर्नुपर्ने बाध्यता हुन्छ। सौतेनी आमा आएपछि ‘जून’ ले भोग्नुपर्ने चुनौती र त्यसबाट मुक्त हुन गरेको संघर्ष नै नाटकमा देखाइएको छ। जूनको ८ देखि २० वर्षसम्मको संघर्षको अवधीलाई नाटकमा समेटिएको छ।

नाटकसँगै कथक नृत्यको माध्यमबाट एक महिला पात्रको विद्रोह र साहसलाई प्रदर्शन गरिएको छ।

स्थेस्टिक डान्स स्टुडियोको प्रस्तुति रहेको नाटकमा सलिन मगर र शाश्वत श्रेष्ठको संगीत छ। यस नाटकमा मेलिशा घिमिरे, कुन्ती सिमली, निकोल श्रेया तामाङ,रिजवान थापा, अनिश पुडासैनी, ज्ञानु लामा, अनामी बोहरा, प्रियंका चम्लागाईं, दिलासा गुरुङ, स्रमिस्टा दास, सुजाता दास र दृष्टि दाहालको नृत्य अभिनय रहेको छ।

सोमनाथ खनालको निर्माणमा बनेको नाटकमा एउटी परीको संघर्षरत दन्त्य कथा प्रस्तुत गर्न खोजिएको छ। सिन्ड्रेला दन्त्य कथाबाट प्रभावित भएर नाटक तयार पारिएको सोमनाथले जानकारी दिए।

कथक नृत्यमा आधारित यो नाटक वैशाख २४ गतेसम्म मञ्चन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell