PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

राजवंशीको 'ह्याट्रिक बल'बाट सुरु हुनेछ प्रिमियर कपको फाइनल



पहिलोपोस्ट

राजवंशीको 'ह्याट्रिक बल'बाट सुरु हुनेछ प्रिमियर कपको फाइनल

काठमाडौं : पूर्वानुमान गरेजस्तै सोमबार प्रिमियर कपको फाइनलका दिन बिहानैबाट मौसम धुम्म रह्यो। खेल सुरु हुँदै गर्दै कीर्तिपुरमा पानी छिट्याउँदै रहँदै गरेको अवस्था थियो। यूएईले १७ औँ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएर खेलिरहँदा वर्षाले पहिलो पटक खेलमा बाधा पुर्‍यायो। तर, केही बेरमा फेरि खेल सुरु भयो।

२८ औँ ओभर चलिरहँदा मौसम अझ खराब बन्दै गयो। त्यो ओभर बलिङ गर्न आएका नेपाली बलर ललित नारायण राजवंशीले पहिलो बलमा डट फाले। दोस्रो बलमा यूएईका लागि सर्वाधिक ४६ रन बनाएर स्कोर लगातार माथि उठाइरहेका आशिफ खानलाई आरिफ शेखको हातबाट क्याचआउट गराए। त्यस्तै तेस्रो बलमा जहुर खानलाई आरिफकै हातबाट क्याचआउट गराए। अर्को बल उनको हुनेवाला थियो : जुनैद सिद्धकी विरुद्ध। तर, जुनैद क्रिजमा आउन नपाउँदै वर्षा सुरु भयो।

ललितको ह्याट्रिकको प्रतिक्षामा झरिमा छाता ओडेर दर्शकहरु स्टेडियममा कुरिरहे तर वर्षाले रोकिने छाँटकाँट देखाएन। अन्तत: खेल 'रिजर्भ डे' मा धकेलियो।

आज सोमवारकै अवस्थाबाट खेल सुरु हुँदैछ। अर्थात २७.३ ओभरमा ९ विकेट गुमाएर यूएई १०६ रनको अवस्थामा छ। ब्याटिङमा जुनैद र कार्तिक मियप्पन छन् भने बलिङमा राजवंशी छन्। आजको खेलमा पहिलो बलमा विकेट लिए राजवंशीको ह्याट्रिक विकेट हुनेछ।

यूएईको सोमवारको इन्निङस्

टस हारेर ब्याटिङमा उत्रिएको यूएईका लागि आशिफ खानले सर्वाधिक ४६ रन बनाउँदा आर्यन लाक्राले १३, कप्तान मोहम्मद वसीमले ११ तथा बसील हमीदले १० रनको योगदान दिएका थिए। अन्य ब्याट्स्म्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। बलिङतर्फ नेपालका राजवंशीले ३ विकेट लिँदा सन्दीप लामिछाने र करण केसीले समान २ तथा सोमपाल कामी र गुलसन झाले १-१ विकेट लिएका थिए।

पहिलो विकेटका रुपमा यूएईले कप्तान मोहम्मद वसीमलाई गुमाएको थियो। ३.१ ओभरमा ११ रन बनाएर खेलिरहेका वसीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच आउट गराए। ७.५ ओभरमा ललित राजवंशीको बलमा आर्यन लाक्राको बल बाउन्ड्री लाइनमा भीम सार्कीले ड्रप गरे। लगत्तै ८.१ ओभरमा करण केसीको बलमा लाक्रा आरिफ शेखबाट क्याचआउट भए।

त्यस्तै ९.१ ओभरमा यूएईले चौथो विकेट गुमायो। ललितनारायण राजवंशीको बलमा १ रन बनाएर खेलिरहेका रमीज शहजाद गुलसन झाको हातबाट क्याचआउट हुन पुगे।

पाँचौँ विकेट यूएईको प्रभावशाली अलराउण्डर रोहन मुस्तफाको गयो। १३.१ ओभरमा २ रन बनाए खेलिरहेका उनलाई सन्दीप लामिछानेको बलमा कुशल मल्लले क्याच आउट गरे।

सुरुबाटै दबाब बनाएको नेपालका लागि छैटौ विकेट गुलसन झाले लिए। उनले २२.५ ओभरमा बसील हमीदलाई बोल्ड आउट गरे। त्यस्तै सातौँ विकेट आयन अफ्जल खानको रह्यो। खान २५.४ ओभरमा सन्दीप लामिछानेको बलमा कुशल मल्लबाट क्याचआउट भए।

यूएईको स्कोर उकास्न ४६ रनको महत्वपूर्ण योगदान दिएका आशिफ खानको महत्वपूर्ण विकेट ललितनारायण राजवंशीले लिए। आशिफ २७.२ ओभरमा राजवंशीको बलमा आरिफ शेखले क्याचआउट गरे। लगत्तै अर्को बलमा राजवंशीले नवौँ विकेट पनि लिए। २७.३ ओभरमा जहूर खान राजवंशीको बलमा आरिफकै क्याचमा आउट भए।

आजको मौसम

मौसम पूर्वानुमान शाखाले आज 'सामान्य बदली' हुनसक्ने सम्भावना रहेको जनाएको छ।

'कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ,' शाखाको मंगलवारको पूर्वानुमानमा भनिएको छ।

त्यस्तै देशका सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell