काठमाडौं : एसिया कप पुग्न यूएईले नेपालसामू ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको हो।
सोमवारको वर्षाले खेल बिथोल्दा सम्म २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो। तर, त्यतिकैमा वर्ष सुरु भएपछि बाँकी खेल मंगलवारका लागि सरेको थियो।
मंगलवार यूएईको अन्तिम विकेटका लागि ११ रनको साझेदारी बन्यो। १७ बलमा १० रन जोडेका जुनैद सिद्धिकी ललित राजवंशीको बलमा कुशल भुर्तेलबाट क्याचआउट भए। आज सुरुवातबाट नै नेपाली बलरहरु यूएईका ब्याट्सम्यानविरुद्ध हाबी भएका थिए।
हिजो र आज गरि नेपालका लागि राजवंशीले सर्वाधिक ४ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले हिजो समान २ विकेट लिँदा सोमपाल कामी र गुलसन झाले १-१ विकेट लिएका थिए।
सोमवारको इन्निङ्स
सोमवार टस हारेर ब्याटिङमा उत्रिएको यूएईका लागि आशिफ खानले सर्वाधिक ४६ रन बनाउँदा आर्यन लाक्राले १३, कप्तान मोहम्मद वसीमले ११ तथा बसील हमीदले १० रनको योगदान दिएका थिए। अन्य ब्याट्स्म्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। बलिङतर्फ नेपालका राजवंशीले ३ विकेट लिँदा सन्दीप लामिछाने र करण केसीले समान २ तथा सोमपाल कामी र गुलसन झाले १-१ विकेट लिएका थिए।
पहिलो विकेटका रुपमा यूएईले कप्तान मोहम्मद वसीमलाई गुमाएको थियो। ३.१ ओभरमा ११ रन बनाएर खेलिरहेका वसीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच आउट गराए। ७.५ ओभरमा ललित राजवंशीको बलमा आर्यन लाक्राको बल बाउन्ड्री लाइनमा भीम सार्कीले ड्रप गरे। लगत्तै ८.१ ओभरमा करण केसीको बलमा लाक्रा आरिफ शेखबाट क्याचआउट भए।
त्यस्तै ९.१ ओभरमा यूएईले चौथो विकेट गुमायो। ललितनारायण राजवंशीको बलमा १ रन बनाएर खेलिरहेका रमीज शहजाद गुलसन झाको हातबाट क्याचआउट हुन पुगे।
पाँचौँ विकेट यूएईको प्रभावशाली अलराउण्डर रोहन मुस्तफाको गयो। १३.१ ओभरमा २ रन बनाए खेलिरहेका उनलाई सन्दीप लामिछानेको बलमा कुशल मल्लले क्याच आउट गरे।
सुरुबाटै दबाब बनाएको नेपालका लागि छैटौ विकेट गुलसन झाले लिए। उनले २२.५ ओभरमा बसील हमीदलाई बोल्ड आउट गरे। त्यस्तै सातौँ विकेट आयन अफ्जल खानको रह्यो। खान २५.४ ओभरमा सन्दीप लामिछानेको बलमा कुशल मल्लबाट क्याचआउट भए।
यूएईको स्कोर उकास्न ४६ रनको महत्वपूर्ण योगदान दिएका आशिफ खानको महत्वपूर्ण विकेट ललितनारायण राजवंशीले लिए। आशिफ २७.२ ओभरमा राजवंशीको बलमा आरिफ शेखले क्याचआउट गरे। लगत्तै अर्को बलमा राजवंशीले नवौँ विकेट पनि लिए। २७.३ ओभरमा जहूर खान राजवंशीको बलमा आरिफकै क्याचमा आउट भए। लगत्तै वर्षा भएपछि खेल मंगलवारलाई सरेको थियो।
नेपाल केहीबेरमा जवाफी ब्याटीङमा उत्रिँदैछ।