PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गुलसनको अर्धशतक र भीमको धैर्यतापूर्ण साथ : एसिया कपमा स्थान बनाउँदै कीर्तिपुरमा इतिहास रच्यो नेपालले



मुकुन्द घिमिरे

गुलसनको अर्धशतक र भीमको धैर्यतापूर्ण साथ : एसिया कपमा स्थान बनाउँदै कीर्तिपुरमा इतिहास रच्यो नेपालले

काठमाडौं : एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा मंगलवार यूएईलाई ७ विकेटले हराएर नेपालले एसिया कपमा स्थान सुरक्षित गरेको हो।

मंगलवार ११८ रनको लक्ष्य पछ्याएको नेपाललाई जित दिलाउन गुलसन झाले महत्वपूर्ण अर्धशतकीय इन्निङ्स खेले।

जवाफी ब्याटीङमा उत्रिएको नेपालको सुरुवात राम्रो हुन सकेन। १.२ ओभरमा १ रन बनाएर ओपनर कुशल भुर्तेल रोहन मुस्तफाको बलमा एलबीडब्लु आउट भए। त्यस्तै मु्स्तफासँग वादविवादमा उत्रिएका आशिफ शेख पनि लामो समय क्रिजमा टिक्न सकेनन्। ६.१ ओभरमा आयन अफ्जल खानको बलमा उनी पनि एलबीडब्लु आउट हुन पुगे। खेलपछि पनि आशिफ र मुस्तफा मैदानमा वादविवादमा उत्रिएका थिए।

भरपर्दा ब्याट्सम्यानका रुपमा हेरिएका कप्तान रोहितकुमार पौडेलले रन जोड्न गर्न सकेनन्। ७.६ ओभरमा मुस्तफाकै बलमा उनी बोल्ड आउट भए।

पौडेलपछि आएका भीम सार्कीले क्रिजमा सम्हालिएको प्रदर्शन गर्दा नेपाली टोली लक्ष्यसम्म पुग्न सफल भयो। सार्की र झाले ९६ रनको साझेदारी गरे। झा ८४ बलमा ३ चौका र ६ छक्काको सहायतामा ६७ रन बनाउँदै अविजित रहे। त्यस्तै भीम सार्की ७२ बलमा ३६ रन जोडेर अविजित रहे।

बलिङतर्फ रोहन मुस्तफाले २ तथा आयन अफ्जल खानले १ विकेट लिए पनि नेपाललाई लक्ष्यसम्म पुग्न रोक्न सकेनन्।

नेपाललाई लक्ष्य

एसिया कप पुग्न यूएईले नेपालसामू ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। कीर्तिपुरमा आज सम्पन्न एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो।

सोमवारको वर्षाले खेल बिथोल्दा सम्म २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो। तर, त्यतिकैमा वर्ष सुरु भएपछि बाँकी खेल मंगलवारका लागि सरेको थियो। मंगलवार यूएईको अन्तिम विकेटका लागि ११ रनको साझेदारी बन्यो। १७ बलमा १० रन जोडेका जुनैद सिद्धिकी ललित राजवंशीको बलमा कुशल भुर्तेलबाट क्याचआउट भए।

नेपालका लागि राजवंशीले सर्वाधिक ४ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २ विकेट तथा सोमपाल कामी र गुलसन झाले समान १ विकेट लिएका थिए।

सोमवारको यूएई इन्निङ्स

सोमवार टस हारेर ब्याटिङमा उत्रिएको यूएईका लागि आशिफ खानले सर्वाधिक ४६ रन बनाउँदा आर्यन लाक्राले १३, कप्तान मोहम्मद वसीमले ११ तथा बसील हमीदले १० रनको योगदान दिएका थिए। अन्य ब्याट्स्म्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। बलिङतर्फ नेपालका राजवंशीले ३ विकेट लिँदा सन्दीप लामिछाने र करण केसीले समान २ तथा सोमपाल कामी र गुलसन झाले १-१ विकेट लिएका थिए।

पहिलो विकेटका रुपमा यूएईले कप्तान मोहम्मद वसीमलाई गुमाएको थियो। ३.१ ओभरमा ११ रन बनाएर खेलिरहेका वसीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच आउट गराए। ७.५ ओभरमा ललित राजवंशीको बलमा आर्यन लाक्राको बल बाउन्ड्री लाइनमा भीम सार्कीले ड्रप गरे। लगत्तै ८.१ ओभरमा करण केसीको बलमा लाक्रा आरिफ शेखबाट क्याचआउट भए।

त्यस्तै ९.१ ओभरमा यूएईले चौथो विकेट गुमायो। ललितनारायण राजवंशीको बलमा १ रन बनाएर खेलिरहेका रमीज शहजाद गुलसन झाको हातबाट क्याचआउट हुन पुगे।

पाँचौँ विकेट यूएईको प्रभावशाली अलराउण्डर रोहन मुस्तफाको गयो। १३.१ ओभरमा २ रन बनाए खेलिरहेका उनलाई सन्दीप लामिछानेको बलमा कुशल मल्लले क्याच आउट गरे।

सुरुबाटै दबाब बनाएको नेपालका लागि छैटौ विकेट गुलसन झाले लिए। उनले २२.५ ओभरमा बसील हमीदलाई बोल्ड आउट गरे। त्यस्तै सातौँ विकेट आयन अफ्जल खानको रह्यो। खान २५.४ ओभरमा सन्दीप लामिछानेको बलमा कुशल मल्लबाट क्याचआउट भए।

यूएईको स्कोर उकास्न ४६ रनको महत्वपूर्ण योगदान दिएका आशिफ खानको महत्वपूर्ण विकेट ललितनारायण राजवंशीले लिए। आशिफ २७.२ ओभरमा राजवंशीको बलमा आरिफ शेखले क्याचआउट गरे। लगत्तै अर्को बलमा राजवंशीले नवौँ विकेट पनि लिए। २७.३ ओभरमा जहूर खान राजवंशीको बलमा आरिफकै क्याचमा आउट भए। लगत्तै वर्षा भएपछि खेल मंगलवारलाई सरेको थियो।

नेपाल एसिया कपमा

घरेलु मैदानमा एसिया कपको 'बाटो' मानिएको प्रिमियर कप जितेसँग नेपालले एसिया कप खेल्ने पक्का भएको छ। एसिया कपमा नेपाल क्रिकेटका शक्ति राष्ट्र भारत र पाकिस्तान रहेको समूहमा पुगेको छ।

प्रिमियर कपको च्याम्पियनले एसिया कप खेल्ने तालिका एसियाली क्रिकेट परिषद (एसीसी)को थियो।

त्यस्तै नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप पनि खेल्नेछ। प्रिमियर कपका शीर्ष तीन टोली अर्थात नेपाल, यूएई र ओमनले प्रिमियर टिम्स एसिया कप खेल्ने छ।

प्रिमियर कपमा नेपाल समूह 'ए' मा अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको थियो भने समूह चरणमा एक हारको बावजुत यूएई समूह 'बी'को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो।

सेमिफाइनलमा नेपाल र कुवेतबीच खेल वर्षाका कारण रद्ध हुँदा समूह विजेता रहेको आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो। अर्कोतर्फ यूएईले समूह 'ए'को उपविजेता ओमनलाई हराएर फाइनल यात्रा तय गरेको हो।

प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमन, साउदी अरेबिया र कतार थिए भने समूह ‘बी’मा हङकङ, बहराइन, यूएई, कुवेत र सिंगापुर थिए। समूह 'ए'बाट नेपाल विजेता र ओमन उपविजेता बन्दै सेमिफाइनल पुगेका थिए। समूह 'बी'बाट यूएई विजेता र कुवेत उपविजेता बन्दै सेमिफाइनल पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell