काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा लागेको उपचार खर्च आफैले व्यहोर्ने भएका छन्। फोक्सोमा समस्या देखिएपछि राष्ट्रपति पौडेल भारतको एम्स अस्पतालमा उपचार गर्न पुगेका थिए। पौडेल उपचारपछि आइतवार राति स्वदेश फर्किसकेका छन्।
राष्ट्रपतिको उपचारमा लाखौं खर्च राज्यकोषबाट हुने भन्दै आलोचना बढेपछि पौडेलले आफैले उपचार खर्च व्योहर्ने भएका हुन्। 'उपचारमा भएको खर्च राष्ट्रपतिज्यु स्वयंले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराईन्छ,' राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार प्रेस नोट जारी गर्दै भनेका छन्।
छातीमा 'इन्फेक्सन' देखिएपछि राष्ट्रपति पौडेलको दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भएको थियो। एकाएक अस्वस्थ भएपछि एक हप्ताअघि वैशाख ६ गते पौडेल एअर एम्बुलेन्समार्फत त्यसतर्फ लागेका थिए।
राष्ट्रपति हुनसाथ सवारी लश्कर त्यागेपछि चर्चा कमाएका पौडेललाई उपचारका लागि भारत जाँदा भने आलोचना भएको थियो। मंहगो शूल्क तिरेर एयर एम्बुलेन्समा भारत गएको र नेपालमा नै उपचार सम्भव हुँदा पनि विदेशमा उपचार गराएको भन्दै सामाजिक संजालमा पौडेलको आलोचना भएको थियो।
आलोचना बढेपछि शीतल निवासले चिकित्सकको सल्लाहमा नै भारत लगिएको भन्दै खण्डन गरेको थियो। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘चिकित्सकको सुझावका आधारमा उहाँलाई उपचारका लागि दिल्ली लगिएको हो। बाहिर आएका अनर्गल प्रचारको पछि नलाग्न सबैसँग अनुरोध गर्दछु।’
सोमबारमात्र कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिले उपचार खर्च आफ्नै खल्तीबाट हाल्न सुझाव दिएका थिए। ‘म सम्माननीय राष्ट्रपतिलाई यहीँबाट अनुरोध गर्न चाहन्छु, सिंगो नेपाली नागरिकको तर्फबाट अनुरोध गर्न चाहन्छु,' थापाले नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा भनेका थिए, 'बाहिर गर्ने यहाँका चिकित्सकहरूले भनिसकेपछि त्यो चिकित्सकीय कुरा हो। परिवारले गर्ने निर्णयको कुरा हो। तर त्यो उपचारको खर्च, मेरो उपचारको खर्च मैले मेरो खल्तीबाट। यो गणतन्त्र हो त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ।'
राष्ट्रपतिले यस्तो कदम चालेमा जनतामाझ सम्मान बढ्नेसमेत गगनको भनाई थियो। 'म व्यहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त। त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्याउँछ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्याउँछ,’ उनको सुझाव थियो।
उनको सुझाव तत्कालै कार्यन्वयन भएकोमा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रशंसा गरेका छन्। 'प्रश्न उठ्यो, प्रस्टीकरण आयोl हामी चाहन्छौं- हामी हरेकको क्रियाकलापमाथि प्रश्न उठ्नुपर्छ र हामी हरेकले जवाफदेही बन्नैपर्छ। लोकतन्त्रवादी मात्र हुनु र लोकतान्त्रिक हुनुको फरक पुष्टि हुनुपर्छ,' फेसबुकमा महामन्त्री शर्माले भनेका छन्, 'प्रश्न उठाउने काँग्रेस महामन्त्री गगन थापालाई धन्यवाद l सम्माननिय रास्ट्रपतिलाई पुर्ण स्वास्थलाभ कामनाl'