PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

नेपालको एसीसी प्रिमियर कप उपाधिमाथि मडारिएको भारत - पाकिस्तानको लफडा, एसिया कप नहुने त होइन?



हेम रोकाहा

नेपालको एसीसी प्रिमियर कप उपाधिमाथि मडारिएको भारत - पाकिस्तानको लफडा, एसिया कप नहुने त होइन?

काठमाडौं : एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपाल विजयी भयो। कीर्तिपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेसँगै एसिया कपको 'ग्रुप ए' मा थपियो नेपालको नाम जसभित्र भारत र पाकिस्तानले पहिल्यै स्थान बनाइसकेका थिए।

नेपाल प्रिमियर कपको च्याम्पियन हुँदा नेपाली सञ्चार माध्यममा ‘हेडलाइन’ छ- ‘नेपाल एसिया कपमा’। तर, के एसिया कपमा भारत र पाकिस्तान लगायत ‘क्रिकेट जायन्ट्स’सँग खेल्ने नेपालको सपना पूरा होला त?

नेपालले एसिया कपको सपना देख्दै गर्दा यही वर्ष सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएको प्रतियोगिता नहुने संशय बढ्दै गएको छ। कारण हो भारत र पाकिस्तान बिचको राजनीतिक किचलो।

पाकिस्तानमा हुने उक्त प्रतियोगितामा भारतले आफ्नो टोली नपठाउने घोषणा गरिसकेको छ। यो ‘डेडलक’ तोड्न पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले एसियन क्रिकेट काउन्सिल (एसीसी)को बैठकमा ‘हाइब्रिड मोडल’मा प्रतियोगिता गर्ने प्रस्ताव गरेको छ। जसअनुसार अन्य टिमले पाकिस्तानमा खेल्ने र भारतले ‘न्युट्रल भेन्यु’मा खेल्न सक्ने पीसीबीको प्रस्ताव छ।

गत महिना पीसीबी व्यवस्थापन कमिटीका अध्यक्ष नजम सेथीले उक्त ‘हाइब्रिड मोडल’को प्रतियोगिता प्रस्ताव गर्दा एसीसीका अध्यक्ष जय शाहले त्यसमा ‘इन्ट्रेस्ट’ देखाएका थिए। तर, भारत फर्किएपछि भने शाह उक्त ‘मोडल’को विपक्षमा उभिए।

‘हाइब्रिड मोडल’कै प्रतियोगितामा पीसीबी अडिग रहे यो वर्ष एसिया कप नहुने सम्भावना बढेको छ। र, पीसीबी पनि त्यसका लागि तयार नै देखिएको छ।

पूरै प्रतियोगिता अर्कै देशमा गर्ने कुरालाई पीसीबीले अस्वीकार गरिसकेको छ। यसै बिच श्रीलंका र बंगलादेशका क्रिकेट बोर्डले एसिया कप ‘न्युट्रल भेन्यु’मा गर्न पाकिस्तानलाई अनौपचारिक रुपमा ‘कन्भिन्स’ गर्ने कोसिस गरिरहेको पनि सञ्चार माध्यमले उल्लेख गरेका छन्।

श्रीलंकाले आफ्नो देशमा एसिया कप ‘होस्ट’ गर्ने इच्छा देखाएको छ। यूएई पनि पुनः प्रतियोगिता ‘होस्ट’ गर्न तयार छ। तर, अहिले नै यसको समाधान नगरिए २०२५ मा च्याम्पियन्स ट्रफिमा पनि यही समस्या दोहोरिने पीसीबीको दाबी छ।

अर्कातर्फ, बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) पनि एसिया कप रद्द हुने ‘सिनारियो’को लागि तयार छ। भारतले ‘पाँच देशीय टुर्नामेन्ट’को लागि तयारी समेत सुरु गरिसकेको बताइएको छ। जुन प्रतियोगिता एसिया कप रद्द भए हुने ‘भ्याकेन्ट’ समयमा आयोजना हुनेछ।

पाकिस्तानी टोली २०१६ मा विश्वकप खेल्न भारत आएको थियो भने २००८ को एसिया कपपछि भारतीय टोली पाकिस्तान पुगेको छैन। त्यसपछि दुई टिम आइसीसीका इभेन्टहरु र एसिया कपमा मात्रै आमनेसामने भएका छन्। २०१२/१३ पछि दुई टोलीले मैत्रीपूर्ण खेल पनि खेलेका छैनन्।

पीसीबी अध्यक्ष सेथी अर्को हप्ता ‘महत्वपूर्ण बैठक’को लागि यूएई जाने कुरा थियो। तर व्यक्तिगत कारणले उनले भ्रमण रद्द गरेका छन्। यसबिचमा एसिया कपबारे केही ठूलै निर्णय आउने क्रिकेट जगतमा चर्चा छ।

अर्कै देशमा पूरै प्रतियोगिता सार्दा सर्वसाधारणबाट आउने प्रतिकृयाप्रति पनि पीसीबी सचेत देखिएको छ। यद्यपि, उक्त प्रस्तावलाई पीसीबीले यसअघि नै अस्वीकार गरिसकेको छ। यो वर्षको एसिया कप नभए भारतमा हुने २०२३ विश्वकपको लागि पाकिस्तानको तयारीमा पनि प्रभाव पर्ने देखिएको छ।

दुई देशबिचको टकराव, नेपाललाई फेरि पर्ने त होइन घाटा?

नेपाल एसिया कपमा छनोट भएको यो पहिलो पटक भने होइन। यसअघि सन् २००२ मै एसीसी ट्रफीमार्फत नेपाल एसिया कपको लागि छनोट भएको थियो।

त्यतिबेला पनि भारत-पाकिस्तानबिचको द्वन्द्वका कारण नेपाल एसिया कपमा सहभागी हुनबाट वञ्चित भएको थियो। २१ वर्ष अघि नै नेपालले पाकिस्तान र भारतसँग खेल्ने अवसर जुरेको थियो। तर दुई देशबिचको द्वन्द्वकै कारण नै नेपालले त्यो अवसर गुमायो। एसीसीको बोर्ड बैठकले त्यसबेलाको एसिया कपको एक संस्करण नै रद्द गर्ने निर्णय गर्दा नेपाल सो प्रतियोगिता खेल्नबाट वञ्चित भएको थियो।

अहिले फेरि नेपाल एसिया कपमा छनोट भइसकेको छ। र, भारत र पाकिस्तानसँगैको समूहमा छ। तर, दुई देशबिचको मनमुटावले फेरि २१ वर्षअघि नै इतिहास दोहोरिने त होइन? प्रश्न उठ्न थालेका छन्।

तर यदि कुनै कारणवश उक्त प्रतियोगिता नरोकिएमा भने नेपालले पहिलो पटक एसिया कप खेल्नेछ।

एसीसीको निर्णय

एसीसीका एक बोर्ड सदस्यले पीटीआइलाई बताएअनुसार एसिया कपबारे मेसेज आदानप्रदान भइरहेका छन्। तर प्रतियोगिता सार्ने वा रद्द गर्नेबारे छलफल अथवा प्रस्ताव सतहमा नआएको उनले बताए।

अर्कातर्फ, यदि एसिया कप रद्द भए पहिलो खबर पाउने पीसीबी नै हुनेछ। यस्ताखाले घटना क्रिकेटमा अहिलेसम्म भएको छैन। यसबारे एसीसी अध्यक्ष शाहले हालसम्म आधिकारिक रुपमा केही बताएका छैनन्।

प्रतियोगिता रद्द गर्न एसीसीले कार्यकारी बोर्ड बैठक बोलाउनु पर्नेछ। अध्यक्ष शाहले सात दिनमा भर्चुअल अथवा फिजिकल रुपमा बैठक बोलाउन सक्नेछन्। हालसम्म उक्त बैठकको कुनै खवर बाहिर आएको छैन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell