PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

दार्चुलाको हिम पहिरोमा पाँच जना बेपत्ता, लगातार पानी र हिउँ पर्दा उद्धारमा कठिनाइ



पहिलोपोस्ट

दार्चुलाको हिम पहिरोमा पाँच जना बेपत्ता, लगातार पानी र हिउँ पर्दा उद्धारमा कठिनाइ

काठमाडौं : दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ मा गएको हिम पहिरोमा पाँच जना बेपत्ता भएका छन्। मंगलवार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिम पहिरोमा चार महिला र एक पुरुष बेपत्ता भएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

लगातार पानी र हिउँ परेका कारण उद्धारमा कठिनाइ भएको उनले बताए। हिम पहिरोमा पुरिएका छ जना पुरुष र एक जना महिला सकुशल अवस्थामा सशस्त्र प्रहरीको सम्पर्कमा आएको डीएसपी थापाले बताए।

सम्पर्कमा आएका सात जनासहित अन्य १३ जना सशस्त्र प्रहरी बलको टोलीसँगै फर्किएका छन्। मौसम खराब भएका कारण बेपत्ताको खोजी हुन नसकेको बताइएको छ।

यार्सागुम्बा खोज्न गएका १२ जना स्थानीय बासिन्दाहरू त्रिपालमा बसिरहेको अवस्थामा हिम पहिरोले पुरिएको आशङ्का गरिएको छ। सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरु, दार्चुलाबाट डीएसपीको कमान्डमा ३० जनाको टोली उद्धारमा खटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell